केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिड प्रहारकर्तालाई मजबुत कानुन खोई ?

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : प्रेम प्रस्ताव अस्वीकार गरेपछि दुई साता अघि राति घरमा सुतिरहेकी रौतहटकी १८ वर्षीया सम्झनामाथि एसिड प्रहार भयो । एसिड प्रहार पश्चात गम्भिर रहेकी उनको आइतबार राति मृत्यु भयो । त्यस्तै, हिजो मात्रै पनि विवाह गर्न नमानेको भन्दै विवाहित छिमेकि पुरुषले विवाहित ३० वर्षीया वसन्ती परियारमाथि एसिड प्रहार गरे । उनी गम्भिर घाइते बनेकी छन् । यी त तत्काल घटेका केहि प्रतिनिधि घटना मात्र हुन् । आजभोली एसिड आक्रमण बढ्दै गएको छ । दिनानुदिन अनेक किसिमका हिंसा र हत्याका घटनाहरुले आतकिंत बनेका नेपालीहरुमा एसिड आक्रमण झनै डरलाग्दो रुपमा थपिएको छ ।

एसिड आक्रमण कुनै मानिसलाई मार्ने, कुरुप बनाउने वा अङगभङ्ग बनाउने उद्देश्यले गरिने एक आपराधिक हिंसा हो । एसिड आक्रमणबाट विशेष गरेर माहिलाहरु बढि मात्रामा पिडित हुने गरेका छन् । विश्वमा वर्षेनि करिब १५०० जना मानिसहरु एसिड आक्रमणका सिकार हुने गरेका छन् । एसिड आक्रमणमा पर्ने मानिसहरु मध्ये ८० प्रतिशत महिलाहरु नै पर्ने गरेको तथ्याङ्क छ ।

एसिड आक्रमण विशेष गरेर युरोपियन देशहरुमा बढि हुने गरेको पाइन्छ । एसिड आक्रमणका घटनाहरु बढ्दै गएपछि बंगलादेशमा सरकारले एसिड आक्रमणकारीलाई आजीवन कारागारको सजाय तोकेको छ भने एसिडसमेत सजिलै उपलब्ध नहुने व्यवस्था मिलाएको छ ।

विश्वमा नै आक्रमणका लागी एसिड प्रहार मौलाइरहेको समयमा नेपालमा नगन्य मात्रामा यस सम्बन्धी घटनाहरु भएता पनि आजभोली भने आक्रमणको नाममा एसिड प्रहार गर्नेहरुको संख्या बढ्न थालेको छ । एसिड प्रहार गरेपछि एसिड परेको शरिरको भाग डढ्ने र जल्ने हुन्छ । यसको शिकार भएको मानिसको बाँच्ने सम्भावना निकै कम हुन्छ भने यदि बाँचे पनि कुरुप वा अपाङ्ग जीवन विताउनुपर्ने हुन्छ ।

नेपालमा विशेष गरेर प्रेम सम्बन्धि मामिलामा नै यस्ता घटना हुने गरेका छन् भने रिसिवि भएका कारण, घर झगडा वा छरछिमेकमा झगडा भएका कारण, जग्गा सम्बन्धि कुरामा मनमुटाव भएमा त्यसैगरि गाडि बन्दका बेलामा गाडि चलाएमा गाडिमा एसिड प्रहार गरेर यात्रुहरु घाइते भएको अवस्थाहरु नेपालमा हुने गरेका छन् ।

एसिड आक्रमण सम्बन्धि कानुनहरु त्यति मजबुत नहुनु, एसिड जहां कहि पनि प्राप्त गर्न सजिलो हुनुको साथै एसिडको माध्यमबाट बदला लिन सजिलो वा आक्रमण गर्न सजिलो हुनु, चेतनाको अभाव आदिका कारणले नेपाल लगायतका मुलुकहरुमा एसिड आक्रमण हुने गरेको छ । एसिड आक्रमण गर्न आक्रमणकारीलाई सजिलो भएपनि यसको शिकार बनेका मानिसहरुको निम्ति भने यो निकै ठूलो सजाय हो । एसिड प्रहार गरिसकेपछि एसिड शरिरको जुन भागमा पर्छ त्यो भाग पुरै जलेर नष्ट नै हुन्छ । यसबाट पिडितको तत्काल मृत्यु पनि हुँदैन् । एसिड पिडितको मृत्यु पनि निकै कष्टकर र कहालिलाग्दो हुन्छ भने यदि उ बाँच्यो भने पनि मृत्यु भन्दा कष्टकर जीवन हुन पुग्छ । त्यसैले एसिड आक्रमण भनेको निकै ठूलो अपराध हो । आजभोली नेपालमा यो धेरै फैलिसकेको नभएपनि यसले विस्तारै स्थान जमाउन थालेको भने पक्कै हो । त्यसैले एसिड आक्रमण मौलाउनु भन्दा पहिले नै यसलाई निर्मुल बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

एसिड आक्रमण सम्बन्धि कडा र कार्यान्वयनकारी नीति नियम बनाउने, एसिड सजिलैसँग उपलब्ध नहुने व्यवस्था गरिनुको साथै यस सम्बन्धी चेतना र शिक्षा फैलाएर एसिड आक्रमणलाई नियन्त्रण मात्र होइन निर्मूल नै गर्न सकिन्छ । यस विषयलाई सम्बन्धित पक्षले गम्भिरताका साथ अध्ययन गरि समयमा विकल्प नखोज्ने हो भने यसले भोलीका दिनमा ठूलो आपराधिक रुप लिनेछ ।

प्रकाशित : 25 September, 2018

प्रतिक्रिया दिनुहोस्