केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डीभी भर्ने सोचमा हुनुुहुन्छ कि ? डीभी भर्नुअघि अवष्य पढ्नुहोस् !!

सहयात्रा टिभी

सहायात्राटीभी : अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागी आज बुधबार रातिदेखि आवेदन खुला हुने भएको छ । डीभी पार्ने र अमेरिका जाने सपना बोकेर सामान्य मानिसहरु मात्र होइनन् डाक्टर, इन्जिनियरदेखि अन्य सरकारी जागिरेहरु पनि डीभी भर्ने तरखरमा छन् । हुँदा खाँदाको जागीर छाडेर डीभीमा अमेरिका जाने सपना धेरैले देख्ने गर्छन् । अमेरिका जान पाए त के के नै होला भन्ने सोच राखेकाहरुलाई आवेदन भर्न र यसको नतिजा थाहा पाउन निकै हतार हुने गर्छ । तर डीभी परेर अमेरिका गइसकेपछिको जीवनको बारेमा कसैले पनि गम्भिर भएर सोचेको भने देखिदैन । सोच्छन् त केवल डीभी परेर अमेरिका पुगेर दुख भोगेकाहरुले । आज सपना देख्नेहरुले सोच्छन् केवल अमेरिका गएपछि त जीवन नै बदलिन्छ । संसारकै सबैभन्दा खुसी मिल्छ । भनिन्छ नि बर्मा गए पनि कर्म संगै भनेर । जहांपनि दुख नगरी केहि हुनेवाला छैन ।

अमेरिका जानेहरुले कहिले काँहि समुन्द्रि किनारामा गएर फिस्स नक्कली हाँसो हाँसेर खिचेका दुईचार तस्विरहरु सामाजिक सञ्जालमा देख्दा आफुलाई त्यहि ठाउँमा कल्पना गर्नेहरु धेरै छन् यहाँ । तर प्रत्येक दिनको १२ देखि १८ घण्टासम्म हप्ताको ६ दिन काम गरेर वाक्क भएको कसैले देखेका छैनन्, देखेका छन् त केवल भोग्नेहरुले । र देखाउन पनि चाहदैनन् भोग्नेहरुले । अनि नक्कली हाँसोसहितको फोटाहरु फेसवुकको भित्तामा पोस्टिएपछि यहां थितीसहित काम गरिरहेका अन्य नेपाली मस्तिष्कलाई पनि खल्वल्याउने काम तिनैले गरेका छन् । हाल देखासिकीको जमाना जो छ । त्यही देख्छन् र सपनाको देश अमेरिका जान हर कोहि तम्तयार हुन्छन् ।

डीभी परेर अमेरिका जाने प्राय मानिसहरुले अरुलाई त्यो दुख भोग्न अमेरिका नआएकै जाति हुन्छ भनेको सुनेर नै त्यहाँको दुखको महशुस गर्न सकिन्छ । यहाँ आफ्नो देशमा, आफ्नो गाउँमा आफ्नै काम गरेर राज गर्नेहरुले पनि अमेरिकामा शुन्यबाट जीवन सुरु गर्नुुपर्छ । यहाँ साराले मान्ने मानिसलाई पनि त्यहाँ कसैले चिन्दैनन् ।

परिवारको एउटा सदस्यको कमाइले यहाँ पुरै परिवार पाल्न सकिन्छ तर अमेरिकामा आफ्नो कमाइले आफैँलाई पाल्न मुस्किल हुने कुरा आज अमेरिकाको सपना देखेर डीभी भर्नेहरुले बुझिदिए कति जाति हुने थियो । नेपालमा प्रत्येक दिन परिवारको साथमा चिया पिएर सुरुवात हुन्छ र परिवारको साथमा साँझको खाना खाएर अन्त्य तर अमेरिकामा प्रत्येक दिन पैसाबाट सुरु हुन्छ र पैसाबाट अन्त्य भन्ने कुरा आज डीभी भर्न सारा काम छाडेर लाग्नेहरुले बुझिदिए कति जाति हुने थियो । छोराछोरी विरामि हुँदा पानी दिने मानिस कोहि हुने छैनन् त्यो निष्ठूरी अर्काको मुलुकमा भन्ने कुरा छोराछोरीलाई डीभी भर्न कर गर्ने आमाबुबाले बुझिदिए कति जाति हुने थियो ।

यहाँ डाक्टर, इन्जिनियर, इन्सपेक्टरलगायत सरकारी कर्मचारी भएर सबैले मान सम्मान गर्ने गर्भ लाग्दो पेसामा खडा भएकाहरुले पनि अमेरिकामा साना साना किराना पसलदेखि सानासाना होटल र रेष्टुरेन्टमा काम गर्नु परेको गुनासो सुनिन्छ । डीभी परेर अमेरिका जाने सपना देख्नु भनेको अमेरिकामा एउटा सानो किराना पसलमा काम गर्न तयार हुनु हो, पिजा बोकेर घरघरमा पु¥याउन जान्छु भनेर तयार हुनु हो, होटल र रेष्टुरेन्ट सफा गर्न तयार हुनु हो । हो, प्रत्येक दिन १२ देखि १८ घण्टा घण्टाको हिसावमा उभिएर काम गर्न तयार हुनु पनि हो । अमेरिका जानलाई डीभी भर्दैै गर्दा त्याहाँ पुगेपछिको यो दुखलाई यहाँ कसैले कल्पना सम्म पनि गर्न सकेका छैनन्, यदि सक्थे भने कसैले पनि डीभी भर्ने नै थिएनन् ।

नेपालमा आमा बुबालाई छक्याएर खाने, सानातिना कामलाई काम नठानेर लत्याउने युवायुवतीहरुले कल्पनासम्म पनि गरेका हुँदैनन् कि त्यहाँ कति मेहनत र दुख गर्नुपर्छ भनेर । नेपालमा आफुले खाएको प्लेट नमाझ्नेहरुले अमेरिकामा दुनियाँले खाएको प्लेट माझ्न लालयित हुन्छन् । यहाँ आफ्नो कोठा सफा गर्न आमालाई सताउनेहरुले त्यहाँ होटल सफा गर्न तयार हुनुपर्छ । काम गरे खान पाइने र काम नगरे खान नपाइने त्यो ठाउँमा बाच्नको लागी कति संघर्ष गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बुझाउँछ अमेरिकाले । समय र कामको महत्व अमेरिकाले राम्रैसँग पढाउँछ नेपालीहरुलाई ।
होला त्यहाँको कमाइ नेपालमा लाखौँ हुन सक्छ । भन्दा पनि हुन् फलानाको छोराले अमेरिकामा महिनाको यति लाख कमाउँछ रे तर नेपालमा बसेर कस्ले देखेको छ र त्यो कमाइले उसलाई आफ्नै खर्च पु¥याउन मुस्किल छ भनेर, कस्ले सोच्छ र उसले दुइ चार दिन काम गरेन भने खान नै मुस्किल पर्छ भनेर ।

अमेरिका गएर प्रगति गर्ने नेपालीहरु पनि नभएका होइनन् तर उनीहरुको मेहनेत र संर्घष निकै कहालि लाग्दो छ । मेहनेत, दुख र संघर्षविना केहि पनि हुनेवाला छैन । मेहनेत र दुख गर्न सके गौरव लाग्दो जीवन बनाउन नेपालमा पनि सकिन्छ र दुख गर्न नसके दाया लाग्दो जीवन अमेरिकामा नै पनि बन्न पुग्छ । त्यसैले डीभि भर्ने र अमेरिका गएर संसारको सबैभन्दा सुखी जीवन विताउने सपना देख्नेहरुले यो भ्रम हटाएर दुख र संघर्ष गरेर जीवन बनाउँछु भन्ने सोच राख्नु जरुरी छ । हैन भने अमेरिकामा पैसाको बोट छ र त्यहि टिपेर ऐस गर्छु भन्नेहरुले भने यो सपना आजैबाट त्यागे हुन्छ । डीभी भरेर अमेरिका जाने सपना देख्नेहरुले पहिले अमेरिका र डीभिमा अमेरिका जाने नेपालीहरुको कथा र सुझावलाई पनि अध्ययन गर्नु आवश्यक देखिन्छ ।

यो पनि पढ्नुस :

भूमिकामा महिला पुरुष दुवै : पुरुष चरित्रवान, अनि महिला चरित्रहिन ?

गौतम बुद्ध जन्मेको देशमा शान्तिकै अनिकाल छ : प्रसंग निर्मला हत्याकाण्ड

प्रकाशित : 3 October, 2018

प्रतिक्रिया दिनुहोस्