केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सत्र सय महिला आत्मरक्षा सीप सिक्दै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२१, धनगढीमा सत्रसय महिला तथा युवतीहरु आत्मरक्षाको सीप सिक्दैछन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले त्रसित सुदुरपश्चिम प्रदेशमा महिलालाई आत्मरक्षाको कला सिकाउन सात दिने शिविर शुरू गरिएको हो ।

धनगढीमा आयोजित उक्त शिविरमा १७ सय किशोरी, युवती र महिला सहभागी छन्। आयोजक राष्ट्रिय गोजुरियो कराते डो संघले देशभरिका १० हजारभन्दा बढी महिलालाई प्रशिक्षित गर्न त्यस्ता शिविर सबै प्रदेशमा आयोजना गरिने जनाएको छ।

हिंसाबाट जोगिन आधारभूत ज्ञान दिइने बताउँदै सङ्घका महासचिव प्रकाश चन्दले भने, ‘हामीले शारीरिक अभ्याससँगै आत्मबल बढाउने तालिम पनि दिन्छौँ।’ उक्त प्रशिक्षणले महिलाको आत्मबल पनि बढाउने विश्वास आयोजकसँगै प्रशिक्षार्थीको पनि छ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टको विचारमा यस्तो प्रशिक्षणले महिलामा आत्मविश्वास पनि बढाउँछ। उपस्थित महिलाहरु पनि उत्साहित छन् र निर्मलाको जस्तो अवस्था आफुहरुले भोग्नु नपरोस भनेर शिविरमा सहभागी भएको बताउँछन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार एकवर्षमा १४ सय ८० वटा बलात्कारविरूद्धका उजुरी दर्ता भएका छन्। पछिल्ला दिनमा देशव्यापी रूपमा बलात्कार लगायतका महिला हिंसाविरुद्ध आन्दोलन भइरहेका छन्।

प्रकाशित : 7 October, 2018

प्रतिक्रिया दिनुहोस्