किन मनाउने फूलपाती ? के छ त फूलपातीको परम्परागत विधि ?

काठमाण्डौं । असोज–३०, प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।
फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको बताइन्छ ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।