आँखाको दृष्टि गुमाएर नै आफ्नो क्षमताको पहिचान गर्न सकेँ : दृष्टिविहिन सृष्टि

काठमाण्डौं । कार्तिक–३, राम्रा राम्रा लगाउने, मिठो खाने र नयाँ नयाँ ठाउँ घुम्ने रहर बोकेर चम्किलो र उज्वल भविष्यको सपना देख्ने उमेर १६ वर्षको उमेरमा भविष्य अन्धकार देखिएको थियो सृष्टि केसीको । कक्षा आठमा पढ्दाबाट आँखा कमजोर हुँदै गई पुरै दृष्टिविहिन हुन पुगेकी सृष्टिको भविष्य के होला भन्ने सोचेर परिवार र आफन्त मात्र होइन समाज पनि चिन्तित देखिएको थियो । छोरीले अब कहिल्यै देख्न सक्दिन भन्ने लागेर सृष्टिकी आमाका आँखाबाट दिनरात आँसु झर्थे ।
त्यो दिन पनि सृष्टिकी आमाको आँखाबाट आँसु झरेको थियो अनि आज पनि झर्छ तर फरक यति छ कि त्यो दिन सृष्टिले आँखाको दृष्टि गुमाएकोमा आँसु झरेको थियो भने आज उसको जीवनको दृष्टि उज्वल भएकोमा आँसु झर्छ । दृष्टिविहिन अपाङ्गता भएकी सृष्टि आज एउटा सपाङ्ग कहलिएका मानवहरु भन्दा कम छैनन् ।
उनले आफुलाई मात्र सक्षम तुल्याएकी छैनन्, अरुको लागी प्रेरणाको स्रोत समेत बनेकी छन् । उनी आजभोली प्रेरणादयी भाषणहरुमा भन्ने गर्छिन, ‘जब सम्म म आँखा देख्थेँ त्यतिबेला पढाइमा कहिल्यै पहिलो भइन, अनि जब आँखा देख्न छाँडे त्यसपछि कलिल्यै दोस्रो भइन ।’ वास्तवमा दृष्टि गुमाएर पनि पढाइमा पहिलेको भन्दा धेरै राम्रो गर्न सक्नु नै उनीबाट प्रेरणा लिनु पर्ने कुरा हो । दृष्टि गुमाएपछि परिवार र समाजले अब यसको भविष्य अन्धकार भयो भन्दै गर्दा यो समाजलाई देखाएर छाड्छु मेरो भविष्य अन्धकार होइन उज्वल छ भन्ने प्रण गरेकी सृष्टि आफु दृष्टिविहिन भएकोमा कहिल्यै दुख मान्दिनन् ।
उनी भन्छिन्, दया हामीलाई होइन, हामीलाई विचरा देख्नेहरुलाई खाँचो छ । दृष्टिविहिन भएपछि नै एस.एल.सी दिएकी सृष्टिले एस.एल.सीमा ७० प्रतिशत कटाएकी थिइन् । अध्ययनमा प्रखर सृष्टिले प्रमाणपत्र तहमा कन्या क्याम्पसबाट त्रिभुवन विश्वविद्यालय टप गरेकी थिइन् भने स्नातक तहमा पनि ‘नेपाली साहित्य’मा पुनः त्रिवि टप गर्न सफल भइन् । दृष्टिविहीनलाई कमजोर, असक्षम र अपांगता भएको भन्न नमिल्ने उनको तर्क छ र यसलाई पुष्टि पनि गरेकी छन् ।
उनी पढाइका साथै गायन, नृत्य, वक्तृत्वकला एवं चित्रकलामा पोख्त छिन् । सृष्टि केही वर्षअघि नृत्य प्रतियोगितामा १५ मुलुकका सहभागीलाई उछिन्दै प्रथम भएकी थिइन् । उनी अहिले आफूसँग भएको नृत्य प्रतिभा दृष्टिविहीन साथीहरूलाई सिकाइरहेकी छिन् । मानिसमा भित्री चाहना र केही गर्ने संकल्प छ भने सफलता प्राप्त गर्न कठिन छैन भन्ने उदाहरण पनि हुन्, दृष्टिविहीन सृष्टि केसी । सन् २०१२ मा उनले ‘ब्लाइन्ड रक्स’ नामक संस्था स्थापना गरेकी छन् । उनले यस संस्थाको माध्यमबाट अन्य दृष्टिविहिनहरुलाई पनि नित्य लगायतको कला सिकाएर प्रोत्साहित गर्ने गर्छिन् । ‘कसैन कसैमा एउटा न एउटा कला हुन्छ, हामीमा पनि केहि गर्ने क्षमता छ तर समाजले हामीलाई जबरजस्ती अपाङ्ग बनाइदिन्छ र केहि गर्न प्रोत्साहन दिनु भन्दा पनि अब केहि गर्न सक्दैनन् भन्ने तरिकाले हतोत्साहित गर्ने गर्छन्’ सृष्टिले यसरी गुनासो व्यक्त गर्छिन् । उनी आफुहरुलाई असक्षमको समुहमा राखेको मन पराउँदिनन् । उनी भन्छिन् सक्षम र असक्षम भन्ने कुरा त उसको काम र क्षमताले भन्ने कुरा हो । काम र क्षमता नहेरी शरिरको अंग हेरेर असक्षम भनिनु ठिक नभएको उनको तर्क छ ।
उनी समाजले आफुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न लागी परिरहेकी छन् । वास्तवमा पढाइ लेखाइ, नित्य, गायन, वक्तित्वकला, कविता, चित्रकला लगायतका रचनात्मक कार्य देखि समाज सेवा, देशविदेशको यात्रा हरेक क्षेत्रमा अग्रसर सृष्टि एउटा सपाङ्ग व्यक्ति भन्दा पनि सक्रिय रहेकी छन् । उनको वास्तविक कथामा आधारित चलचित्र ‘ व्लाइन्ड रक्स’ पनि निर्माण भएको छ । हरेक क्षेत्रमा सक्रिय र अग्रसर सृष्टि नेपालमा मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा समेत उदाउँदै गएकी छन् । उनले आँखाको दृष्टि गुमाउँदै गर्दा उनको भविष्यलाई अन्धकार देखेर दया देखाउनेहरुले गौरब गरिरहेका छन् भने उनबाट अन्य अपाङ्गता भएका र नभएका मानिसहरुले पनि प्रेरणा लिनै पर्ने भएको छ । आँखाको दृष्टि गुमाउनु नै भविष्यको दृष्टि पाउनु रहेछ भन्ने सृष्टि आफुमा भएको कमजोरिलाई होइन क्षमतालाई पछ्याउँछिन् र उनको यहि सकारात्मक सोचले उनी दिनप्रतिदिन सफल हुँदै गएकी छन् ।