हटिजिया सेन्गिजलाई बाहिरै छाडेर दूतावासमै बिलिन भए खासोग्जी
काठमाण्डौं । कात्तिक–८, टर्किस नागरिक हटिजिया सेन्गिज आफ्ना हुनेवाला श्रीमानको हात समातेर टर्की, इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा अक्टोबर २ तारिख, स्थानीय समयअनुसार दिउँसो सवा १ बजे पुगिन्। टर्किस नागरिक सेन्गिजलाई बाहिरै राखेर ५९ वर्षीय पत्रकार जमाल खासोग्जी भित्र छिरे।
पूर्वपत्नीसँग सम्बन्धविच्छेदको कागज लिन खासोग्जी अघिल्लो पटक सेप्टेम्बर २८ मा महावाणिज्य दूतावास पुगेका थिए। कर्मचारीले उनलाई अक्टोबर २ मा आउन भने। एक वर्षदेखि स्वनिर्वासनमा रहेका खासोग्जीले कर्मचारीका कुरा पत्याए।
उनलाई साढे १ बजेको समय दिइएको थियो। तर उनी १५ मिनेट अघि नै गेटभित्र छिरे। सायद उनी हतारमा थिए- सम्बन्धविच्छेदको कागज लिएर भोलिपल्टै सेन्गिजसँग बिहे गर्दै थिए।
३६ वर्षीया सेन्गिजले धैर्यपूर्वक हुनेवाला श्रीमानलाई साउदी महावाणिज्य दूतावासमा घन्टौं कुरिन्। साँझ पर्यो। अँध्यारो भयो। खासोग्जी बाहिर निस्केनन्।
सायद खासोग्जीलाई पनि त्यो दिनको संकटको पूर्वानुमान थियो। छुट्टिने बेला उनले सेन्गिजलाई भनेका थिए, ‘केही भयो भने यो नम्बरमा फोन गर्नू।’
त्यो नम्बर राष्ट्रपतिका एक सल्लाहकारको थियो।
टर्किस राष्ट्रपति रेसेप तेयिप इर्डोगनसँग खासोग्जीको खास सम्बन्ध थियो। सेन्गिजले खासोग्जी महावाणिज्य दूतावासबाट हराएको भन्दै उनले दिएको नम्बरमा फोन गरिन्।
सेन्गिजको त्यो फोनले खासोग्जीलाई फिर्ता त ल्याएन। तर संसारलाई भने त्यो खबरले तरंगित पार्यो। अझै पारिरहेको छ।
खासोग्जी पछिल्लो समय अमेरिका बस्थे। वासिङ्टन पोष्ट पत्रिकामा स्तम्भ लेख्थे। साउदी अरेवियाका शासकका कटु आलोचक थिए।
खासोग्जी हराएको खबर चारैतिर फैलियो।
धेरैले सुरूमै आशंका गरे- साउदी राजकुमार मोहम्मद बिन सलमानको निर्देशनमा खासोग्जीको हत्या भयो।
साउदी अरेबियाले ती आशंका खण्डन गर्यो। उनको हत्या लुकाउन खोज्यो।
उनी महावाणिज्य दूतावास छिरेको तर केहीबेरमै उनी त्यहाँबाट निस्केको झुटो प्रचार गर्यो।
टर्कीले साउदी महावाणिज्य दूतावासभित्रै खासोग्जीको हत्या भएको खबर ‘लिक’ गर्यो। त्यसले संसारभर सनसनी मच्चायो।
त्यसयता खासोग्जीको क्रुर हत्याका अनेक पाटा खुलेका छन्।
उनी टर्की आएकै दिन साउदीका १५ जना एजेन्ट चार्टड विमान लिएर रियादबाट इस्तानबुल पुगेका थिए। उनीहरू विमानस्थलबाट होटल गए। खासोग्जी आउनुअघि नै महावाणिज्य दूतावास छिरेर उनलाई पर्खिएर बसे।
टर्किस अधिकारीहरूले त्यो दिन साउदी महावाणिज्य दूतावासभित्र भएको घटनाको अडियो रेकर्डका केही अंश ‘लिक’ गरेका छन्।
त्यो अडियोका अनुसार राजकुमार सलमानका सल्लाहकार तथा विश्वासपात्र साउद-अल खतानीले स्काइपमार्फत् रियादमा बसेर खासोग्जी हत्याको नेतृत्व गरेका थिए।
महावाणिज्यदूतका एक अधिकारीले दूतावासभित्र यस्तो नगर्न ती एजेन्टलाई भनेका थिए। तर उनीहरूले साउदी गएर बाँच्न मन भए चुप लाग्न चेतावनी दिए।
खासोग्जी दूतावासभित्र पस्नेबित्तिकै साउदी एजेन्टहरूले उनलाई नियन्त्रणमा लिएको आशंका छ। त्यसपछि खतानीले उनलाई स्काइपबाट गाली गरे। उनको हातका औंला काटिए। त्यसपछि यातना दिँदादिँदै उनको हत्या गरियो।
एक टर्किस अधिकारीका अनुसार स्काइपमा खतानीले खासोग्जीबारे आफ्ना एजेन्टहरूलाई निर्देशन दिए- मलाई त्यो कुत्ताको टाउको चाहिन्छ।
उनको लास टुक्राटुक्रा पारेर एजेन्टहरूले लिएर गएको विश्वास गरिन्छ। तर अहिलेसम्म उनको लास कहाँ छ भन्ने कसैलाई थाहा छैन।
राजकुमार सलमानका विश्वासपात्र खतानीले राजकुमारको निर्देशनमा यसअघि पनि ‘हाई प्रोफाइल’हरूविरूद्ध अकल्पनीय अपराध गरेका छन्।
लेबनानका प्रधानमन्त्री साद हरिरीलाई पनि उनले बन्दी बनाएका थिए। कूटनीतिक अधिकारीहरूका अनुसार नोभेम्बर २०१७ मा खतानीले साउदी राजाले भेट्न चाहेको भन्दै हरिरीलाई बोलाएका थिए। तर उनलाई एउटा कोठामा लगेर बन्दी बनाए। कुटपिट गरे र पदबाट राजीनामा दिन लगाए। यो कुरा फ्रान्सले थाहा पायो। राष्ट्रपति इमान्युएल म्याक्रोले हस्तक्षेप गरे। हरिरी रियादबाट फ्रान्स उडे।
खासोग्जी हत्याको नेतृत्व खतानीले गरे पनि यसमा साउदी राजकुमारको हात रहेको धेरैको आशंका छ। राजकुमारको सहमति वा निर्देशन बिना यति ठूलो हत्या त्यो पनि विदेशी भूमिमा खतानीले मात्र गर्न नसक्ने धेरैको तर्क छ।
केही महिनाअघि अर्कै प्रसंगमा ट्वीट गर्दै खतानीले लेखेका थिए- तपाईं कुनै निर्देशनबिना म निर्णय गर्छु भन्ने सोच्नुहुन्छ? म एक कामदार हुँ, म मेरा भगवानजस्ता राजा र राजकुमारका आदेशको पालना गर्छु।
खासोग्जीको हत्याबारे छानबिन गर्न अन्तर्राष्ट्रिय समुदायले व्यापक दबाब दिदैं आएको थियो। दुई हप्तापछि गत शुक्रबार साउदीले महावाणिज्य दूतावासभित्रको भीडन्तमा उनी मारिएको बताएको छ। उनको हत्या नियोजित नभई भव्यतव्य भएको उसको दाबी छ।
टर्किस राष्ट्रपति इर्डोगनले भने खासोग्जीको हत्या सुनियोजित भएको दाबी गरेका छन्। मंगलबार पार्टी सांसदसँगको एक कार्यक्रममा बोल्दै उनले अक्टोबर २ मा साउदी एजेन्टको इस्तानबुल आउजाउले अनेकौं प्रश्न उब्जाएको र तिनको उत्तर साउदीले दिनुपर्ने बताए। ट्रकिस राष्ट्रपति इर्डोगनले उनको शव सार्वजनिक गर्न र घटनामा संलग्न भएको भन्दै पक्राउ परेकालाई इस्तानबुल पठाउन पनि माग गरेका छन्।
राष्ट्रपति इर्डोगनका मित्रसमेत रहेका खासोग्जीले ३५ वर्ष पहिला पत्रकारिता थालेका थिए। सुरूमा उनी साउदी गजेट पत्रिकाको संवाददाता बने। सन् १९९१ मा उनी अल मदिना पत्रिकाको कार्यकारी सम्पादक बने। सो पत्रिकामा उनले सन् १९९९ सम्म विदेश मामलाको रिपोर्टिङ पनि गरे।
उच्च खानदानी परिवारका खासोग्जीको साउदी राजपरिवारसँग घनिष्ट सम्बन्ध थियो। उनले केही समयसम्म साउदी सरकारको सल्लाहकारको रूपमा पनि काम गरे।
गत वर्ष शक्तिशाली बन्न राजकुमार सलमानले राजपरिवारका केही सदस्य र व्यापारीलाई पक्राउ गरेपछि उनी राजकुमार सलमानका आलोचक बने र स्वनिर्वासनमा निस्किए। राजपरिवारले उनलाई साउदी सञ्चारमाध्यममा लेख्न प्रतिबन्ध लगायो। अमेरिकाको ग्रिनकार्ड भएका खासोग्जी कहिले लण्डन, कहिले भर्जिनिया र कहिले इस्तानबुल बसे।
खासोग्जीको हत्याले अमेरिका साउदी अरेबिया सम्बन्धलाई नै नाजुक मोडमा पुर्याएको छ। आफ्ना आलोचकको कायरतापूर्वक हत्या गर्ने ३३ वर्षीय साउदी राजकुमारलाई अमेरिकाले दण्डित गर्नु पर्ने चर्को आवाज अमेरिका र युरोपमा उठेको छ। तर अमेरिका र साउदीलाई खाडीक्षेत्रमा एक अर्काको साथको खाँचो छ। दुबैका साझा दुश्मन इरानविरूद्ध उभिन उनीहरूलाई एकअर्काको साथ महत्वपूर्ण छ। त्यसैले केही दिनअघिसम्म साउदीको यो कदमविरूद्ध तिखो टिप्पणी गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आलोचना मथ्थर बनाउँदै लगेका छन्। केही दिनअघि मात्र आफ्ना अर्थमन्त्रीलाई साउदी पठाएर ट्रम्पले यो सम्बन्ध यथावत रहने संकेत गरेका छन्।
साउदी अपराध नंग्याउने सार्वजनिक प्रण गर्दै आएका टर्किस राष्ट्रपति इड्रोगन पनि एक कदम पछि हटेको हिजोको उनको पत्रकार सम्मेलनले संकेत गरेको छ।
उनले साउदी दूतावासमा भएको घटनाको अडियोसहित धेरै नयाँ तथ्य सार्वजनिक गर्न सक्ने धेरैले अनुमान गरेका थिए। तर उनले पत्रकार सम्मेलनमा अडियोको कुनै प्रसंग नै निकालेनन्। उनले अहिलेसम्म सार्वजनिक भएका भन्दा कुनै नयाँ कुरा पत्रकार सम्मेलनमा भनेनन्।
पछिल्लो पटक टर्कीमा राष्ट्रपति इड्रोगनविरूद्ध भएको असफल ‘कू’ पछि उनले सो ‘कू’मा अमेरिकी हात रहेको आरोप लगाउँदै आएका छन्। त्यसयता अमेरिकासँग उनको सम्बन्ध चिसिएको छ। साउदीसँग पनि टर्कीको सम्बन्ध राम्रो छैन।
खासोग्जी हत्या प्रकरणलाई सुरूमा उचालेर र पछि सम्झौता गरेर अमेरिका र साउदीसँग आफ्नो सम्बन्ध सुधार्न चाहेको धेरैले अनुमान गरेका छन्।
राज्य यति क्रुर हुन्छ, उसको स्वार्थअघि व्यक्तिको जीवनको कुनै मूल्य हुन्न।
केही ‘गडबड’ भए फोन गर्नू भनेर खासोग्जीले आफ्नी प्रियतमालाई दिएको नम्बर काम नलाग्ने भएको छ।
त्यो नम्बरको ‘भ्यालिडिटी’ खासोग्जीको जीवनसँगै सकिएको सायद सेन्गिजले पनि थाहा पाइसकेकी छन्।
अर्को दिन बिहे गर्ने सपना सजाएर साउदी महावाणिज्य दूतावास बाहिर कुरेकी सेन्गिजले गत शनिबार ट्वीटरमा लेखिन्- उनीहरूले मेरो दुनियाँबाट तिम्रो भौतिक उपस्थिति खोसे। तर तिम्रो सुन्दर मुस्कान मेरो मनमा सधैंभरि रहिरहनेछ, मेरो प्रिय!