बुबाआमाको दागबत्ती दिन नसकेका शर्माले दिए अपरिचित मगरको दागबत्ती

काठमाण्डौं । कात्तिक–१३, चितवन रत्ननगर ११ का केपीकिरण शर्माले एक अपरिचित वृद्धको दागबत्ती दिएका छन् । सोमबार शर्माले देवघाटमा जाजरकोटका ६० वर्षीय टेकबहादुर थापामगरको चितामा दागबत्ती दिएका हुन् ।
आमा र बुबा दुवै जना गुमाइसकेका शर्माले आमाबुबाको शव हेर्न नसकेर दागबत्ती दिने जिम्मा पनि भाइलाई लगाएका थिए । उनी भन्छन्, ‘मेरो मन कमजोर छ। मैले बुबा र आमाको शव हेर्न सकिनँ। दागबत्ती दिन भाइलाई जिम्मा लगाएँ।’
एक दशक अघिदेखि ‘चेपाङका बा’ भनेर चिनिएका केपीकिरणले असोज २ गते बिहान मगरलाई फेला पारेका थिए। घर जाजरकोट भए पनि रोजगार गरेर भारतबाट आउँदाआउँदै बाटोमा बिरामी भएपछि बसले पनि बाटैमा ओरालिदिएको बताउने मगरलाई प्रहरीले अस्पताल पु¥याएको थियो ।
अस्पतालमा जिम्मा लिने मान्छे कोहि नभएपछि अस्पतालले मगरलाई नलिइरहेको अवस्थामा शर्माले जिम्मा लिएर भरतपुर अस्पताल लगेका थिए । उपचार सकेर मगरलाई भरतपुरकै मानवसेवा आश्रममा राखि फर्कन लाग्दा शर्माले वृद्धलाई केहि समस्या भए आफु भएको र मृत्यु नै भएमा पनि आँफैले दागबत्ती दिने बाचा गरेका थिए ।
आइतबार दिउँसो साढे १२ बजे भरतपुरस्थित मानवसेवा आश्रममा नै मृत्यु भएका मगरको दागबत्ती दिएर आफ्नो बाचा पुरा गरेका शर्माले भावुक हुँदै यस्तो सेवा गर्ने मौका कमैलाई मिल्ने बताए ।