केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि पाटनको प्रसिद्ध कात्तिक नाच शुरु

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२६, ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ ।

नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख (बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बतायो ।

प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले बताए । उनले भने, ‘नृत्य गर्ने, गाउने र बाजा बजाउने गरेर धेरै जनाको सहभागिता हुन्छ ।’ यो वर्ष ललितपुर महानगरपालिकाले नाचका लागि रु दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । समितिले भने यति रकम पर्याप्त नभएको बताउँदै आएको छ । यो वर्ष सात वर्षपछि ल्यब लायगु र खुशी छिकेगु देखाइने भएको छ ।

वि.सं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गरेका हुन् । कृष्णभक्त राजा भएकाले उनले कृष्ण मन्दिर निर्माण गर्नुका साथै कृष्णलीलामा आधारित नाचको शुरु गरेका थिए । यस नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको छ । कलाकारलाई दैविक शक्तिप्राप्ति हुने सहभागी कलाकार बताउँछन् । यो नाचको अवधि घट्ने बढ्ने भइरहेको छ ।

वि.सं २००७ मा भने नाच सञ्चालन नै हुन सकेन । केही वर्ष पहिलेसम्म आठदेखि १० दिन हुनेमा चार वर्ष पहिलेदेखि १२ दिनसम्म चलिरहेको छ । दशैँ तिहार सकिए र धान थन्क्याएर पाटनवासी फुर्सदमा हुने समय पारेर नाच सञ्चालन हुने गरेको छ । रासस

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्