त्रिवि स्नातकोत्तरमा प्राइभेट भर्ना बन्द

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१६, त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह अध्ययन गर्न नियमित क्याम्पस जान नभ्याउने विद्यार्थीका लागि सञ्चालित प्राइभेट परीक्षा यो वर्षदेखि बन्द गरेको छ। स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरिएकाले वार्षिक प्रणालीअन्तर्गतको पढाइ बन्द गरेको त्रिविको तर्क रहेको छ ।

त्रिविले नियमित क्याम्पस जान नसक्ने विद्यार्थीलाई घरमै बसेर पढ्ने र परीक्षामा सहभागी हुन पाउने प्राइभेट परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको थियो। यसरी प्राइभेट परीक्षा दिनेमध्ये अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी हुन्थे।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष स्नातकोत्तर तहको प्राइभेट परीक्षा दिनेमा राजनीतिशास्त्रतर्फ ३ हजार २ सय १५ र एमपीएमा २ हजार ९ सय ३१ विद्यार्थी थिए। परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘विद्यार्थी आकर्षण त बढिरहेको छ। तर यस वर्षदेखि नयाँ भर्ना खुलाउँदैनौं। दोस्रो वर्षमा अध्ययनरत र आंशिक विद्यार्थीले भने परीक्षा दिन पाउँछन्।’

त्रिविले यसै वर्षदेखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ। उपत्यकाबाहिर भने यसलाई अनिवार्य बनाइएको छैन। यसअन्तर्गत भर्ना विद्यार्थी कक्षामा नियमित उपस्थित हुनुपर्छ। शिक्षकले दिएको ‘असाइनमेन्ट’ पनि पूरा गर्नुपर्छ। कक्षाको गतिविधिलाई आधार मानेर प्रयोगात्मक परीक्षामा अंक दिइने हुँदा सेमेस्टर प्रणालीमा कक्षामा विद्यार्थी नियमित उपस्थित हुनुपर्छ।अन्नपूर्ण पोष्टबाट

प्रकाशित : 2 December, 2018

प्रतिक्रिया दिनुहोस्