आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाण्डौं । मंसिर–२४, सोमबार शेयर बजार (नेप्से) १२.४९ अङ्कले बढेको छ ।सेयर लगानीकर्ता दबाव समूहको अनशनपछिका दुई दिन सेयर बजार लगातार बढेको हो ।
कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से साढे दुई घन्टामा १५ अङ्क बढेर केही ओरालो लाग्दै बढेकै अवस्थामा ८ अङ्कमा आएको थियो । त्यसपछि अन्तिम समयमा ५ अङ्क बढ्दै कारोबार सकिँदासम्म १२।४९ अङ्कमा पुगेर रोकिएको हो ।
नेप्सेमा आज १ सय ६३ कम्पनीका ४ हजार ५ सय ६६ कारोबारबाट १२ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भई ४३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्सेमा कारोबार भएका १० समूहमध्ये दुई समूह ओरालो लागे पनि आठ समूह बढ्दा नेप्से दोहोरो अङ्क बढ्यो । नेप्सेमा आज उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहमा सुधार आएको छ । उत्पादनमूलक २.५१ तथा अन्य २.७९ अङ्कले घटेको छ ।
यस्तै बैङ्किङ १३.४३, होटल २३.८७, विकास बैङ्क १४.८, निर्जीवन बिमा ७२.०५, जीवन बिमा ९८.६९ अङ्कले बढेको छ ।