=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने

सहयात्रा टिभी

चितवन । पुष–४, चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ ।

कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत वर्ष कोरलिएका ६ हुर्र्काउलो बच्चा, चार भाले र दुई पोथीलाई पिठौली लगिएको हो । प्रजनन् केन्द्रमा हुर्किएका ती गिद्धलाई जालीभित्र राखिएको छ । ती गिद्ध र जाली बाहिर प्रकृतिका गिद्धलाई सँगसँगै सिनो खुवाएर घुलमिल गराएपछि पाँच÷छ महीनापछि प्रकृतिमा छाडिने खड्काले बताए ।

“प्रकृतिका गिद्धसँग घुलमिल गराएपछि रेडियोकलर जडान गरी छाडिनेछ,” उनले भने । प्रजनन् केन्द्रमा हुर्काइएका १८ गिद्धलाई सोही खोरमा राखेर प्रकृतिमा छाडिसकिएको उनले बताए । दुई वर्षअघिबाट हुर्काइएका गिद्ध प्रकृतिमा छाड्न शुरु गरिएको हो । हाल प्रजनन् केन्द्रमा ३९ गिद्ध छन् । यस वर्ष हालसम्म १३ गिद्धले अण्डा पारेर ओथारो बसिरहेको खड्काले बताए । गिद्धले अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्ने गर्दछ ।

विश्वबाटै लोप हुन लागेको हुँदा गिद्धको संरक्षण गरिएको हो । यसको वंश विस्तारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा महत्वका साथ हेर्ने गरिन्छ । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो ।

सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशमा पनि संरक्षण थालिएको हो । मुख्य रूपमा पशु बिरामी पर्दा दुःखाइ कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने गर्दछन् ।रासस

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्