सर्वोत्कृष्ट खेलाडीले एक-एक लाख पाउने

सहयात्रा टिभी

काठमाण्डौं । पुष–८, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही रु एक लाख पुरस्कार पाउने भएका छन् ।

अघिल्लो वर्षका प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडीको घोषणा गरिने सङ्घले जनाएको छ । सङ्घका अनुसार सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार यस वर्षदेखि जनता बैंकले उपलब्ध गराउने भएको छ ।

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र खेलाडी सङ्घका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा आज हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म सङ्घलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि रु दुई लाख उपलब्ध गराउनेछ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताए ।

अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा सङ्घले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । रासस

प्रकाशित : 23 December, 2018

प्रतिक्रिया दिनुहोस्