झापामा आगलागीबाट २२ घर टहरा ध्वस्त

भद्रपुर । पुष–१३, झापाको मेचीनगर वडा नम्बर ६ साठी बिघा भन्ने ठाउँमा आगलागी हुँदा २२ घर तथा टहरा जलेर ध्वस्त भएका छन् । काँकडभिट्टा प्रहरीका अनुसार बिहीबार राति भएको आगलागीबाट फुसले छाएका १६ टहरा र टिनले छाएका ६ वटा एकतले घर जलेर नष्ट भएका हुन्।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको अहिले घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

आगलागी हुनेबित्तिकै सबै घरका परिवार बाहिर निस्केकाले मानविय क्षति भने हुन पुगेन ।
प्रवक्ता श्रेष्ठका अनुसार स्थानीय छविलाल आङदाम्बेले बिजुली गएपछि बालेको मैनबत्ती ग्यास सिलिन्डरको पाइपमा सल्किएपछि राति साढे ८ बजेतिर आगलागी सुरु भएको थियो। उक्त क्षेत्रमा चित्रा र फुसले बनाइएका घर भएकाले आगो चाँडै फैलिएको स्थानीय बासिन्दाले बताएका छन्।

तीनवटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *