स्वर्णपदक विजेता महर्जन पुरस्कृत

काठमाण्डौं । पुष–१५, नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ।
हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो।
कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो बनाएर सामाजिक एकता अभिवृद्धि गर्नुपर्ने बताए।
उनले आफूले पनि अन्तर्राष्ट्रिय पदक ग्रहण गर्दा देशका लागि केही गरौँ भन्ने ऊर्जा थपिने गरेको अनुभव सुनाए।
सम्मानित महर्जनले खेलकूदका माध्यमबाट आफूले प्राप्त गरेको सफलता सबै नेपालीको गौरवको विषय भएको विचार व्यक्त गरे। कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजीत दत्त, नेत्रनाथ पौडेललगायतले महर्जनले अन्तर्राष्ट्रिय तहमा भएको उक्त प्रतिस्पर्धामा नेपाल र नेपालीको गौरव बढाएकामा खुशी व्यक्त गर्दै उनको जीवनको सफलताको शुभकामना दिए।
रासस