वैवाहिक सम्बन्ध : फाँसी
पँञ्चे बाझा झ्याँइ झ्याँइ बजाएर पल्ला घरकी दिदिलाई अन्माइ रहँदा लागेको थियो मेरो त्यो दिन कहिले आउला । रातो साडि रातै चुरामा सजिएकी दिदि, त्यो दिन सबैकी प्यारी भएकी थिइन् । राम्री र प्यारी भएकी दिदि देखेर मेरो पनि मनमा रहरहरु जागिरहेका थिए ।
मेरो अन्जान मनले अन्जान परिभाषा दिएको थियो, विवाहको । नभन्दै त्यो दिन मेरो पनि आयो । मेरा रहरका राता साडि, राता चुरा र गरगहनामा सबैले मलाई सजाइरहेका थिए । म आफैँलाई ऐनामा हेरेर फुरुङ्ग थिएँ । आफ्ना हातका चुरा, पाउका पाउजु र लगाएका कपडा आफैँले सुम्सुम्याउँदै मख्ख थिएँ ।
तर खै कुन्नी किन हो त्यो दिन मेरो बाबाको मुहारमा मलिनता र निराशा थियो । खै कुन्नी किन हो त्यो दिन मेरी आमाको आँखा रसाइरहेका थिए । बाबाको मुहारको मलिनता र आमाको आखाँको आँशु देखेर पनि मैले त्यसको अर्थ बुझ्न सकिन र त्यति धेरै प्रवाह पनि गरिन ।
नौला मानिस, नौलो किसिमको माया सहित त्यो नौलो यात्रा अनि त्यो नौलो घर, कताकता यो मनमा पनि नौलो अनुभुति भइरहेको थियो । सबैको नजर मै माथि थियो, कसैले कसैसँग तुलना गर्दै त कसैले मेरो सुन्दरताको प्रशंसा गर्दै थिए । सानासाना केटाकेटीहरु, हुन त म पनि सानि नै थिएँ तर म भन्दा पनि साना भाइबहिनीहरु पनि मेरो छेउ आउन तछाड मछाड गर्दै थिए । आगनको डिलमा मलाइ नै हेरेर बसिरहेको कालो कुकुरले पनि पुच्छर हल्लाउँदै खै कुन्नि के के भन्दै थियो । मलाई लागिरहेको थियो कि म संसारकै रानि हुँ ।
मन त्यसैत्यसै फुरुङ्ग थियो । सबैको प्रशंसा, सबैको माया, नयाँ कपडा र गरगहना मेरो उमङ्गको सिमा थिएन सायद ।
तर दिदि अन्माउँदाको त्यो रहर, आफु अन्मिँदाको त्यो कौतुहल्ता, त्यो खुसी, त्यो हर्ष र उमङ्ग धेरै समय भने टिक्न सकेन ।
त्यो सजिएको बन्द कोठा, अनि त्यहाँ सजिएका प्रत्येक सामाग्रीहरुले मेरो परिचय खोजिरहेका थिए । ती प्रत्येक सामाग्रीहरुले मलाई नै गिज्याइरहेका थिए ।
त्यो बन्द कोठामा मेरो कौतुहल्ता र रहरहरु कताकता डरमा परिणत हुँदै थियो । त्यतिकैमा कसैले भरि गिलास दुध ल्याएर टेबलमा राख्दै मलाई नै जिस्काएको शैलीमा भन्यो, ‘दुध दुलाहा राजालाई तिमिले खुवाउनु पर्ने है’ ।
अनौठो लाग्यो, म अलमल्ल परेँ । सबै कुरा सुने तर केहि बुझिन । दुधको गिलास तिर आँखा डुलाएँ खै किन हो, भरि गिलासको दुध थोपा थोपा छुट्टिएको देखेँ र प्रत्येक थोपाले मलाई नै हेर्दै गिज्याइरहेको महशुस गरेँ ।
छेउमै रहेको ठूलो ऐनामा आफुलाई नियाल्न खोँजे खै कुन्नि किन हो आफ्नै प्रतिबिम्बले पनि आँफैलाई जिस्काइरहेको पाँए । त्यहाँको प्रत्येक चिजले मलाई केहि भन्न खोजिरहेका थिए तर मैले केहि बुझ्न सकिरहेकी थिइन् । रातसँग सँगै मेरो मनको डर पनि बढ्दै थियो ।
त्यतिकैमा ढोकाबाट कोहि छि¥यो, मेरो कान्छो काकाको उमेरको मान्छे, त्यहि मान्छे थियो यो जो दिनभर विवाहको मण्डपमा मेरो दुलाह बनेर बसेको थियो । भित्र पसेर कोठाको आग्लो हालेपछि उसका कदमहरु मतिर अघि बढ्दै थिए, मानौँ बाघले शिकार देखेर अघि बढिरहेको छ । उसको कदमभन्दा दोब्बर गतिमा मेरो मुटुको ढुकढुकी अघि बढ्दै थियो ।
उ छेउमा आयो, केहि बोल्यो, मैले केहि बुझिन । उसका शिकारी आँखा मेरो शरिरका प्रत्येक अंगहरुमा नाचिरहेका थिए । उसका ती दृष्टिबाट आफुलाई बचाउन खोज्दै थिएँ म । उसले आफ्ना हातहरु मेरो शरिरतर्फ अघि बढायो । म असहज महशुस गदै थिएँ, आफ्ना कदमहरु पछि सार्दै थिएँ, तर सकिन, मेरो रहरको साडि उतारियो । उसले मेरो संवेदनशिल अंगहरुतर्फ आफ्नो हात लगाउँदै गर्दा मैले आफ्नो एउटा हातले अर्को हातको पाखुरामा समातेर आफुलाई सुरक्षित गर्न खोज्दै थिएँ तर सकिन, मेरा रहरका चुराहरु पनि फुटे ।
हो त्यहि दिनबाट हो मलाई रहर लाग्न छाडेको रातो साडि र रातो चुराको । हो त्यहि दिनबाट हो मेरो मस्तिष्कमा विवाहको परिभाषा बदलिएको अनि विवाहको रहर सदाका लागि मरेको ।
जब विवाहको अर्थ रातो साडि र रातो चुरा लगाएर राम्री हनु हो भन्ने सोच्थेँ अनि त्यहि रहर पुरा गर्न आमाको रातो सल चोरेर साडि बनाइ तल्लाघरे कान्छोलाई दुलाहा बनाउँथे, हो त्यहि रहर बास्तविकता भएदेखि हो, आफ्नै रहरहरुप्रति पनि घृणा लाग्न थालेको ।
जब शारिरीक सम्बन्ध के हो थाहा थिएन्, जब लोग्नेस्वास्नीको सम्बन्ध के हो थाहा थिएन, त्यस बेला औपचारिक तथा अनौपचारिक कुनै कुरै नभइ अन्जान मानिसबाट जबरजस्ती गरियो, त्यहि दिनदेखि हो यौन सम्बन्धप्रति नकारात्मक धारणा बनेको, त्यहि दिन देखि हो यौन सम्बन्धप्रति इच्छा मरेको, हो त्यहि दिनदेखि हो बाँच्ने आशा मरेको ।
त्यहि रात सम्झेकी थिँए मैले म बेहुलि बनेर खुसी भएको दिन बुवाको मुहारमा निराशा र आमाको आँखामा आँशु किन थियो भन्ने कुरा अनि त्यहि समय रुँदै चिच्याउँदै सोध्न मन थियो, बाबा म अन्जान थिएँ, म त बेहुलि भएको खुसीमा मख्ख थिएँ, मैले हजुरको मुहारको मलिनता र निराशाबारे सोच्न सकिन तर हजुरले त सोच्नु भएको थियो नि त्यो दिनको मेरो खुसी त्यहि दिन अन्त्य हुँदैछ भनेर, फेरि किन पठाउनु भयो ?
आमा मैले त्यो दिन तिम्रो आँखाको आँशुबारे सोच्न सकिन तर तिमिले त सोचेकी थियौ नि मेरो त्यो दिनको खुसी र रहरहरु त्यहि दिन मारिदैँ छन् भनेर फेरि किन पठायौ ?
एउटा निर्दोष व्यक्तिले फाँसिको सजाए पाएपछि निर्दोष सावित भए झैँ विवाहको नाममा परेको यो पासोबाट म कहिल्यै उम्किन सकिन । धेरै पटक आत्महत्या गर्ने कोशिस गरेँ तर अन्जानमा जन्मिएकी यो छोरीको मायाले कहिल्यै मर्न दिएन् । आज पन्द्र वर्ष वितिसक्दा पनि लोग्नेबाट सम्पूर्ण दायित्व पुरा भयो तर माया पाइन । सबै सुखसयल पाएँ तर खुसी कहिल्यै पाइन ।
उ केहि बोल्दै थियो, मैले भने, ‘म विरामी छु आराम गर्न दिनुस’ । उसले भन्यो, ‘के विरामी छन्, ठिकै त देख्छु नि । ५०० दिन्छु क्या ।’ म झर्किँए, ‘चुप लाग्नु, विरामी छु भनेको बुझ्नु हुन्न ।’ मेरो बोलि भुँइमा खस्न नपाउँदै भन्यो, ‘१०००’ । यो त दैनिकी नै थियो मलाई फकाउने उस्को शैली तर आज असह्य भयो कराएँ, ‘पैसामा बजारमा जति केटि पाइन्छन्, म स्वास्नी हुँ मेरो मुल्य तोक्न लाज लाग्दैन् । विरामी छु् किन नबुझेको हो कुरा ।’ फेरि आफ्नै ठूलो स्वर गर्दै भन्यो, ‘तँलाई भोलिको लागी पैसा चाहिएको छ कि छैन ?’ यसरी मसँग प्रत्येक पटक वार्गिलिङ गर्ने अरु कोहि नभएर मेरै आफ्नै लाग्ने हो । यसरी अति गरेपछि म आफ्नो शारिरीक कमजोरि र विरामी सबै विर्सिएर चुपचाप उसको कुरा मानिदिन्छु, अलिकति खर्चको लोभमा अनि अलि धेरै स्वास्नी भएको दायित्व पुरा गर्न ।
हो यसरी नै १५ वर्ष वितिसक्यो प्रत्येक रात, प्रत्येक पटक म आफ्नै लोग्नेबाट बलात्कृत भइरहेकी हुन्छु । जब उस्ले मबाट सन्तुष्टि प्राप्त गरिरहेको हुन्छ, जब उ आनन्दको चरम विन्दुमा हुन्छ, हो त्यहि समय, त्यहि पल रगत र आँशुको आहालमा डुबेर म हिसाब गरिरहेकी हुन्छु, यो १५ वर्षमा म आफ्नै लोग्नेबाट कतिपटक बलात्कृत भएँ…………………….