मलाई क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरियो : नेता नेपाल
काठमाण्डौं । पुष–२३, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टीकरण दिदै आपत्ति जनाएका हुन् ।
सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए ।
सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरे ।उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाए ।
वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे । उनले एसिया प्यासिफिक समिटमा पहिलोपटक सहभागी हुने वीपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिएका थिए ।