केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छिमेकीको मलामी जाँदा अदालतमा १५ हजार धरौटी

सहयात्रा टिभी

विराटनगर । पुष–२४, नेपालीमा एउटा उखान छ ‘छिमेकी जिउँदाको जन्ती मर्दाको मलामी’ । तर, छिमेकीको मृत्युमा मलामी गएका एक गाउँका १२ जनाले भने मलामी गएकै कारण अदालतमा १५ हजार धरौटी बुझाउनु परेको छ ।

मोरङको धनपालथान ७ की ८० बर्षीया रुब्दो राजवंशीको मलामी गएका १२ जनाले जिल्ला अदालत मोरङमा जनही १५ हजार धरौटी बुझाउनु परेको हो ।कात्तिक २२ गते राति खाटबाट लडेर रुब्दोको मृत्यु भएको खबर पाएपछि भाइटीकाकै दिन १२ जना छिमेकी मलामी गएका थिए ।

तर, अनुसन्धानका क्रममा रुब्दोको छोराले हत्या गरेको खुल्यो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको इजालसले हत्यामा संलग्न भएको अभियोगमा छोरा भेटलु र बुहारी रामकुमारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मलामी गएकाहरुसँग भने धरौटी मागिएको छ ।

भेटलु रुब्दोका एक्ला छोरा हुन् । छोरा बुहारीसँग छुट्टिए पनि बिहान बेलुकाको खाना भने सँगै खाँदै आएका थिए ।

सामान्य विवादमा कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए । ‘अन्त्येष्टि गरेपछि हामीलाई खबर आयो’ प्रहरी निरीक्षक कार्कीले भने, ‘घटनास्थलको सबुत प्रमाण नष्ट गरिएको थियो ।’

प्रहरीका अनुसार रुब्दोको नाममा ८ बिघा जमिन थियो तर, छोरालाई एक विगाह मात्र दिएकी थिइन् । जग्गाको बिषयमा विवाद हुँदा छोराले कोदालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको कार्कीले बताए ।अनलाइनखबरबाट

प्रकाशित : 8 January, 2019

प्रतिक्रिया दिनुहोस्