उपाधि होडमा रोमाञ्चक बन्दै स्पेनिस ला लिगा
एजेन्सी । असार–०९, बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके आइतबारको खेलमा कस्तो नतिजा आउँछ भनी प्रतीक्षामा थिए । त्यस दिन बार्सिलोनाको प्रतिद्वन्द्वी रियल म्याड्रिडले रियल सोसिडाडविरुद्ध खेल्ने तालिका थियो । म्याड्रिडको हारले बार्सिलोना शीर्ष स्थानमा रहन्थ्यो । जितले म्याड्रिडले बार्सिलोनालाई शीर्ष स्थान विस्थापित गर्ने थियो । यसैकारण पिके खेलको अन्तिम नतिजा नआउँदासम्म ढुक्कका साथ बस्न सकेनन् । उनको चाहना थियो– म्याड्रिडले बराबरी वा हारको सामना गरोस् । तर, भईदियो अर्कै । पिकेले सोचेजस्तो नतिजा आएन ।
सोसिडाडमाथि २–१ को नतिजा निकाली म्याड्रिड अंकतालिकाको एक नम्बर स्थानमा पुग्यो । यो स्थानबाट म्याड्रिडले पुनः एकपटक ला लिगा उपाधि जित्ने सपना बुनेको छ । तर, म्याड्रिडले उपाधि जित्न त्यति सहज छैन । बार्सिलोना पनि उपाधि गुमाउन चाहँदैन । लिगको ३०औँ चरण खेलपछि उपाधि कसले जित्छ भन्ने विश्लेषण हुन थालेको छ । डिफेन्डर पिकेलाई साबिक विजेता बार्सिलोनाले उपाधि रक्षा गर्न सक्छ वा सक्दैन भन्ने चिन्ता लागेको छ । रियले एरिनामा भएको खेलमा म्याड्रिडलाई कठिन जित दिलाउने क्रममा सर्जियो रामोसले ५०औँ मिनेटमा पेनाल्टी र करिम बेन्जिमले ७०औँ मिनेटमा गोल गरेका थिए । ला लिगाको इतिहासमा डिफेन्डरका रूपमा सर्वाधिक गोल गर्ने रामोस एक नम्बरका खेलाडी बनेका छन् । उनले आफ्नो गोलसंख्या ६७ पुऱ्याएका छन् । रोमासले रोनाल्डो कोएम्यानको रेकर्ड तोडेका हुन् । रामोसले कीर्तिमान रचेको दिन म्याड्रिडले ३० खेलबाट ६५ अंक बटुल्यो । समान खेलबाट ६५ अंक जोडेको साबिक विजेता बार्सिलोना दोस्रो स्थानमा छ । उपाधि होडमा केवल बार्सिलोना र म्याड्रिड मात्र छन् । तेस्रो स्थानको एटलेटिको म्याड्रिड र चौथो स्थानका सेभिल्लाले समान ३० खेलबाट ५२ अंक बटुलेका छन् । उनीहरूको उपाधि जित्ने सम्भावना छैन । म्याड्रिड र बार्सिलोनाले ३८ खेलसम्म समान अंक बनाए हेड टु हेड नियम अपनाइन्छ । रमाइलो पक्ष के छ भने यसपटकको दुवै एल क्लासिको बराबरीमा सकिएका छन् ।
यो अवस्थामा अब एक हारले ठूलो मूल्य चुकाउनुपर्छ । बार्सिलोना गोलअन्तरमा रियलभन्दा अगाडि भएका कारण म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान आउँदा खेलमा शतप्रतिशत नतिजासाथै गोलअन्तरसमेत सुधार गर्नुपर्ने बताउँछन् । बार्सिलोनासँग उपाधि रक्षा गर्ने ठूलो हतियार भनेकै गोलन्तर हो । यसको फाइदा बार्सिलोनाले पछिसम्म उठाउन सक्छ । यसकारण नै म्याड्रिडका प्रशिक्षक जिदानले खेलाडीहरूलाई गोलअन्तर बढाउनुपर्ने पक्षमा दबाब दिएका छन् । र,अब धेरै खेल पनि छैनन् । लिगामा केवल आठ चरणका खेल बाँकी छन् । म्याड्रिडको खेलअघि बार्सिलोनाले सेभिल्लासँग बराबरी नतिजा निकालेका कारण नै म्याड्रिडलाई फाइदा पुगेको हो । यदि सेभिल्लालाई हराएको भए बार्सिलोना सहजै शीर्ष स्थानमा पुग्ने थियो । दुई अंकको अग्रताका साथ उपाधि होडमा जान सक्थ्यो ।बार्सिलोनाका डिफेन्डर पिकेले उपाधि रक्षा गर्न म्याड्रिडले आउने खेलमा हारको सामना गर्नुपर्ने बताएका छन् । ‘हामी निकै कठिन अवस्थामा छौँ, यहाँबाट उपाधि रक्षा गर्न सकिने अवस्था छैन,’ चिन्तित हुँदै पिकेले भने, ‘अहिले म्याड्रिडले हाम्रो तुलनामा कमजोर प्रतिद्वन्द्वी पाइरहेको छ ।’ म्याड्रिडले अबका खेलमा तालिकाको मध्य स्थानमा रहेका क्लबसँग खेल्नेछ । मार्लोका, लेन्गेस तथा इस्पानोलसँग म्याड्रिडको खेल छ । गेटाफे र भिल्ला रियल मात्र म्याड्रिडका कठिन प्रतिद्वन्द्वी बन्न सक्छन् । गेटाफे र भिल्ला रियलसँगको खेलले बार्सिलोनाको भाग्य निर्धारण हुने पिकेको विश्लेषण छ । यदि पाँचैवटा खेलमा म्याड्रिडले जित निकाले बार्सिलोनाले उपाधि गुमाउने पिकेको भनाइ छ । सेभिल्लाविरुद्धको खेलमा खेलाडी छनोट नै गलत भएको दाबी पिकेले गरेका छन् । उनी भन्छन्, ‘सेभिल्लासँगको प्रतिस्पर्धामा अनुभवी खेलाडी हुनुपर्ने थियो, तर प्रशिक्षकले यसलाई हल्का रूपमा लिए ।’ खेलमा सेट खेलाडी नहुँदा सुरुदेखि अन्त्यसम्म तालमेल नमिलेको उनले बताए ।