कोरोना कहर : भारतमा एकैदिन १६ हजार कोरोना संक्रमित थपिए

सहयात्रा टिभी

एजेन्सी । असार –१०,भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुकाअनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना कोरोना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी संक्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको बताइएको छ । प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भएकोे देखिन्छ ।

महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना संक्रमित भएको तथ्यांक छ । तीमध्ये ६२ हजार ८४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै महाराष्ट्र राज्यमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ । अधिकारीहरुकाअनुसार तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना संक्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ ।केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने संक्रमितको संख्या ६६ हजार ६०२ जना रहेकोजनाइएको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको बताइएको छ ।

प्रकाशित : 24 June, 2020

प्रतिक्रिया दिनुहोस्