अमेरिकामा एकैदिन ५७ हजार संक्रमित थपिए,ब्राजिलमा कोरोना संक्रमित संख्या १५ लाख नाघ्यो
एजेन्सी। असार–१९, हाल विश्वमै कोरोना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा कोरोना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेको छ । संक्रमणका केसमा भने अमेरिका अघि देखिएको छ ।ब्राजिलमा कोरोना संक्रमितको संख्या १५ लाख नाघेको छ ।वर्ल्डोमिटर्सले शुक्रबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या १५ लाख १ हजार ३५३ पुगेको जनाएको छ । ब्राजिलमा बिहीबार एकै दिन ४७ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार २७७ जनाको मृत्यु भएको छ ।
अघिल्लो दिन बुधबार पनि त्यहाँ ४४ हजार ८८४ नयाँ संक्रमित थपिएका थिए भने १ हजार ५७ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणका कारण कुल ६१ हजार ९९० जनाले ज्यान गुमाइसकेका छन् ।तर ब्राजिलमा निको हुने दर पनि बढी छ । त्यहाँ हाल कोरोना संक्रमितमध्ये ९ लाख १६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएको जनाइएको छ । बिहीबार त्यहाँ ८९ हजारबढी मानिस संक्रमणमुक्त भएको तथ्यांकमा देखाइएको छ । हाल ब्राजिलमा ५ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या दैनिक रूपमा बढिरहेको छ । त्यहाँ कुल संक्रमित संख्या २८ लाख ३७ हजार नाघेको छ । त्यहाँ १ लाख ३१ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार बिहानसम्म कुल संक्रमित संख्या २८ लाख ३७ हजार १८९ पुगेको छ । बिहीबार एकै दिन मात्र अमेरिकाकम हालसम्मकै बढी ५७ हजार २३६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार पनि अमेरिकामा दैनिक संक्रमणका ५१ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो ।अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि मृत्युहुनेको संख्या भने कम छ । संक्रमण दरको तुलनामा मृत्युदर घटिरहेको छ भने निको हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म अमेरिकामा ११ लाख ९१ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ४११ मानिस संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख १४ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको बताइएको छ ।तर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वमै धेरै रहेकोजनाइएको । हालसम्म १ लाख ३१ हजार ४८५ जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । बिहीबार कोरोनाबाट ६८७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन बुधबार पनि अमेरिकामा ६७६ जनाको मृत्यु भएको थियो ।