अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट फेसबुकले हटाइदियो
एजेन्सी । श्रावण–२२,फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट हटाइदिएको छ । कोरोना भाइरससम्बन्धी गलत सूचनासहित ट्रम्पले गरेको पोस्टलाई फेसबुकले हटाइदिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले फक्सन्युजसँगको अन्तर्वार्ताको एउटा क्लिप सेयर गरेका थिए उनले उक्त अन्तर्वार्तामा बालबालिकासँग कोरोना भाइरससँग प्रतिरक्षा गर्ने क्षमता हुने बताएका थिए । तर अमेरिकी स्वास्थ्य अधिकारीले भने ट्रम्पले भनेजस्तो बालबालिकासँग कोरोना प्रतिरोधी क्षमता नहुने स्पष्ट पारेका छन् ।अमेरिकी राष्ट्रपतिले आफूहरुको सूचनासम्बन्धी नियम उल्लंघन गरेको फेसबुकले जनाएको छ ।
फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोरोना भाइरसका बारेमा झुटो दाबी गरिएको छ । यसले हाम्रो नीतिको उल्लंघन गरेको छ । हामी कोरोना भाइरससम्बन्धी अफवाह फैलाउनेहरुको विरुद्धमा छौं ।’ ट्रम्पले यसअघि पनि सामाजिक सञ्जालमा कोरोनासम्बन्धी गलत सूचना दिइरहे पनि फेसबुकले पहिलो पटक उनको पोस्ट हटाएको हो ।बुधबार बेलुका ट्विटरले पनि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको आधिकारिक ह्यान्डल ‘टिम ट्रम्प’ लाई केहीबेर नयाँ पोस्ट गर्नबाट वञ्चित गरेको थियो । कोरोनासम्बन्धी फक्सन्युजसँगकै अन्तर्वार्ताको अंश उक्त ह्यान्डलबाट सेयर गरिएको थियो ।ट्विटरका प्रवक्ताले ‘टिम ट्रम्प’ ले कोरोनाको सूचनासम्बन्धी नियम उल्लंघन गरेकाले केहीबेर उक्त एकाउन्ट ‘सस्पेन्ड’ गरिएको बताएका थिए । पछि उक्त ह्यान्डलबाट अन्तर्वार्ताको अंश हटाइएको थियो । त्यसपछि मात्रै त्यस ह्यान्डलबाट नयाँ पोस्ट गर्न मिल्ने भएको हो ।यसबारे अहिलेसम्म ह्वाइटहाउसले कुनै प्रतिक्रिया दिएको छैन ।