एक सातादेखि संकलन गरेर राखिएका एक हजार चार सय बढी स्वाबको परीक्षण हुन सकेन
विराटनगर । श्रावण–२७, प्रदेश १ मा एक सातादेखि संकलन गरेर राखिएका एक हजार चार सय बढी स्वाबको परीक्षण हुन सकिरहेको छैन । कोरोना भाइरसको शंका लागेर परीक्षणका लागि स्वाब दिएकाहरु लामो समयदेखि रिपोर्ट नआउँदा अन्योल र तनावमा परेका छन् । यस सन्दर्भमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले संक्रमितको संख्या बढेसँगै स्वाब परीक्षणको चाप पनि थपिँदा समस्या हुँदै गइरहेको जनाएको छ ।
प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले भने ‘सबैतिरबाट नमुना संकलन गरेर पठाउने गर्दा परीक्षणमा समस्या भइरहेको छ, अत्यन्त जरुरी रहेकालाई प्राथमिकता दिनुपर्ने अवस्था हुँदा एक सातादेखि संकलित कतिपयको स्वाबको परीक्षण हुन सकिरहेको छैन ।’
यादवले परीक्षणसँगै रिपोर्ट समयमा नआउने भएकाले एकद्धार प्रणालीबाट स्वाब संकलन हुनु पर्नेमा जोड दिए । प्रदेशमा दिन प्रतिदिन संक्रमित संख्या बढिरहँदा स्वाब परीक्षणको दायरा पनि बढाइएको छ । तर रिपोर्ट समयमा नदिएको भन्दै प्रयोगशालाको आलोचना भइरहेको छ । पावर र पहुँच हुनेको चाँडो रिपोर्ट आउने तथा नहुनेको समय लगाउने गरिएको भन्दै प्रयोगशालाको परीक्षण प्रक्रियाप्रति आम जनताको असन्तुष्टि बढ्दै गएको छ । यादवकाअनुसार हाल विराटनगरमा दुई, धरान र झापामा एकरएकवटा प्रयोगशालाबाट स्वाबको परीक्षण गरेर नतिजा निकाल्ने गरिएको छ । ‘सबै ठाउँबाट एकै पटक ठूलो संख्यामा संकलन हुने स्वाबको चाङ् लागेका हुन्छन् । परीक्षण गर्ने प्रयोगशाला सीमित छन्, एक दिनमा कति स्वाब नमुना संकलन हुन्छ भन्ने यकिन हुँदैन । अघिल्लो दिन पोजेटिभ देखिएको रिपोर्टका आधारमा त्यो कुरा निर्भर हुन्छ ‘उनले भने ।कसैको पोजेटिभ रिपोर्ट आएमा उसँग सम्पर्कमा रहेकाहरु र आफन्तलाई ‘कन्ट्रयाक ट्रेसिङ]गर्दै परीक्षणको दायरामा ल्याउनु पर्ने हुँदा दैनिक रुपमा स्वाब संकलन बढ्दै गइरहेको जानकारी यादवले दिए ।
यादवकाअनुसार अन्यत्रको ल्याबमा भन्दा प्रदेशको प्रयोगशालाबाट भने रिपोर्ट चाँडै प्राप्त हुन्छ । विभिन्न समस्याका बावजुत शंकास्पदको प्राथमिकता हेरेर चाँडै रिपोर्ट निकाल्न आफूहरु लाग्ने गरेको उनको भनाइ छ । ‘कसैलाई पोजेटिभ देखियो भने चाँडो परीक्षण गरेर उसको सम्पर्कमा भएकाहरुमा संक्रमण भए/नभएको पुष्टि गर्नु पर्ने हुन्छ, ‘शंकास्पदको मृत्यु भएमा शव व्यवस्थापन छिट्टै गर्नु पर्ने भएकाले पनि तत्कालै रिपोर्ट दिइहाल्नु पर्ने अवस्था रहन्छ ।’प्रयोगशालामा बिहान ८ बजेदेखि राति १० बजेसम्म छ जना प्राविधिक निरन्तर परीक्षणमा खटिने गरेको उनले बताए । तर पनि लामो समयदेखि संकलन गरिएको ठूलो संख्याको स्वाब परीक्षण हुन नसकिरहेको उनको भनाइ छ । दैनिक विराटनगरको कोशी अस्पतालले तीन सय र जनस्वास्थ्य प्रयोगशालाले चार सय बढी स्वाबको परीक्षण गर्दै आएको जानकारी उनले दिए । प्रदेश १ मात्रै नभइ प्रदेश २ बाट पनि संकलित नमुना आउने भएपछि विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा दैनिक रुपमा परीक्षणका लागि ल्याइने स्वाबको संख्या बढ्दै गइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासले बताए । ‘सबैतिरबाट स्वाब नुमना ल्याइने भएकाले परीक्षणको चाप पनि दिनै बढ्दै गइरहेको छ,’ उनले भने, ‘एउटा मात्रै मेसिनले परीक्षण गर्नु पर्ने अवस्था भएकाले भोलिका दिनमा झन् जटिलता थपिने अवस्था छ ।’दासकाअनुसार विराटनगर महानगरपालिका क्षेत्रबाट मात्रै दैनिक एक सय ५० बढी स्वाब परीक्षणका लागि आउने गरेको छ । दायरा बढाइएसँगै चाप पनि ह्वात्तै बढ्दा परीक्षणका लागि अरु पनि मेसिन र जनशक्ति थप गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।यसअघि विग्रिएको कोशीको पीसीआर मेसिन काठमाडौंबाट बनाएर ल्याए पनि त्यसबाट परीक्षण हुन सकिरहेको छैन ।‘बनाएर ल्याएको मेसिनले अझै काम गरिरहेको छैन,’ डा. दास थप्छन्, ‘उक्त मेसिनको ठाउँमा जगेडामा राखिएकाले अर्कोले काम गरिरहनु परेको छ ।’ काठमाडौंबाटै प्राविधिक झिकाएर मेसिन बनाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
विराटनगरमा कोरोनाको आशंकामा स्वाब परीक्षण गर्न दिएका एकजना पत्रकारको रिपोर्ट पाँच दिनपछि सोमबारसाँझ पोजेटिभ आयो । ‘हल्का ज्वरो आएकाले कोरोना भाइरसको संक्रमण भएको आशंकामा स्वाब परीक्षण गर्न दिइएको थियो’ ती पत्रकारले भने,’तर ज्वरो निको भइसकेर अवस्था सामान्य बनेपछि रिपोर्ट आयो ‘ लामो समयसम्म रिपोर्ट प्राप्त नहुँदा मानसिक रुपमा ठूलो तनाव बेहोर्नु परेको उनको भनाइ छ ।’स्वाब दिएको पाँच दिनपछि रिपोर्ट आयो । त्यो पनि पोजेटिभ,’ उनले भने, ‘त्यतिबेलै रिपोर्ट प्राप्त भएको भए तत्कालै उपचार सुरु गर्न हुन्थ्यो । अहिले सबै ठीक भए जस्तो भएर अवस्था सामान्य बनिसकेको छ ।’उनले आफ्नो जस्तो रिपोर्ट समयमा नआउँदा धेरै जना सर्वसाधारण अन्योल र तनावको स्थितिमा रहेको पनि जानकारी दिए । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संकलित स्वाब परीक्षणमा समय लगाउन नहुने बताएका छन् । ‘संकलन गरिसकेपछि तत्काल परीक्षण गरेर रिपोर्ट उपलब्ध गराउनु पर्छ,’ उनले भने, ‘तर लामो समयसम्म परीक्षण नै नगरिकन थाँती राखिदिने समस्या प्रयोगशालाको छ ।’दैनिक परीक्षणको दायरा बढाएर लैजानु पर्ने बाध्यता महानगरसँग भए पनि समयमा रिपोर्ट नआउँदा कोरोनाका शंकास्पदरु बढी समस्यामा परिरहेको कार्कीले जनाए ।