उपत्यकाभित्र ३ दर्जन भन्दा बढी सेवा र व्यापार सञ्चालनमा रोक
काठमाडौं ।श्रावण–३०,राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापाररव्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताएका छन् । त्यस्तै सबै प्रकारका सभा/गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले बताए । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार/व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक/कामदार ओसारपसार तथा टेकवेबाहेक होटल/रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।प्रजिअ दाहालले निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि बताए । उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिसकेको छ ।