नेपालमा कोरोना : थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ३५ हजार ५ सय २९ पुग्यो
काठमाडौं । भाद्र –११, पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १११ कोरोना सङ्क्रमित थपिएका छन् । १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजा अनुसार एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । संक्रमित मध्य ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छ हजार २१० र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।
हाल आइसीयूमा १४९ जना रहेका छन् । प्रदेश १ मा ११, प्रदेश २ मा ४४, बागमतीमा ७३, गण्डकीमा तीन, प्रदेश ५ मा १८ रहेका छन् । कर्णाली र सुदूरपश्चिममा कोही पनि आइसीयूमा रहेका छैनन्।भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ । प्रदेश १ मा दुई र बागमती प्रदेशका १५ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।निको हुने दर ५६ प्रतिशतमा झरेको छ ।विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी बस्ने सङ्ख्या नौहजार ४८६ रहेका छन् ।नेपालमा २४ घण्टामा सङ्क्रमित पाँच महिलासहित आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १८३ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएकाछन् ।नौवटा जिल्लामा पाँच सयभन्दा माथि संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।मोरङ, धुनषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, काठमाडौँ, ललितपुर जिल्लामा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन् ।नेपालमा दुईवटा जिल्लाहरू सङ्क्रमित शून्य रहेका छन् । मुस्ताङ र हुम्ला मात्र अहिले सङ्क्रमित शून्य भएका छन् ।