छोरीहरुलाई सहन कर छ हो ???

सहयात्रा टिभी

प्रत्येक साँझ सात बजे फोन गरेर
हेल्लो भन्नु भन्दा पहिला कोठा पुगिस भन्दा
‘छैन बाटो मै छु’ भन्ने मेरो भारी वाक्य सुनेपछि
लामो सास र सानो आवाजमा
पुगेपछि फोन गरेस है भन्ने मेरी आमालाई
मैले कहिल्यै भन्न सकिन
‘आमा, जा….गिर बाट कोठासम्म पुग्दाको साँझको यो एक घण्टा
तपाइँकी छोरीका लागी एउटा जुनि कटाए बराबर हुन्छ’ ।

भुत भनेपछि औधि डराउने,
बत्ति निभाइदिए निदाउनै नसक्ने त्यो छोरी
त्यो ठूलो शहरको, त्यो ठूलो घरको, त्यो सानो अध्ँयारो कोठामा
बत्ति निभाएर एक्लै कसरी सुत्दिहो भन्ने सम्झिएर
मध्यरात सम्म निदाउनै नसक्ने मेरो बुबालाई
मैले कहिल्यै भन्न सकिन,
‘बुबा भुतसँग डराएर मान्छेहरुको साहारा खोज्ने तपाइँकी छोरी
आजभोलि मान्छेहरुको साहारा खोज्दिन, किनकि
उ मान्छेहरुसँगै डराउन थालेकी छ’ ।

भेडाबाख्रा झैँ मान्छे कोचिने यी गाडिहरुमा
को को बाट म कताकता मात्र छोइँदिहुँ,
हतारिँदै हिँडिरहँदा बाटो छेउ जिब्रो पड्काउँदै
बस्नेहरुको गिद्दे नजरबाट म कति पटक बलात्कृत हुँदिहुँ,
मुटुमा गाँठो बनाइ, सबै सहेर कोठासम्म पुगेकी म
भित्रबाट ढोकाको चुक्कुल हालेपछि
लामो सास फेर्दै, त्यहि ढोकामा अढेस लाग्दै
दिनभरि मेरो सामानको भारी बोकेर थाकेको मेरो झोला
र दिनभरि मेरै भारी बोकेर थाकेका मेरा गोडा
दुवैलाई भुँइमा बिसाएर
कसैले सुन्लाकि भनि आवाज दबाएर
म कित रुँदिहुँ,
कहिल्यै हिसाव भएन कहिल्यै ।।

घरमा साना साना कुरामा विद्रोह मच्चाउने म
मर्छु, अन्याय सहन्न भनि चिच्याउने म
अन्याय कति सहन्छु, मर्न कति डराउँछु
तब थाहा भयो जब मलाई नै
जिस्काइरहेका एक हुल दानवहरुलाई झपार्न भनि
शब्द रचिसकेको मेरो मस्तिष्क, तयार भइसकेको मेरो मन र
अघि बढि सकेका मेरा पाइलाहरु एकै पटक रोकिए
भोलि पनि यहि समय मैले यहि बाटो हिड्नुपर्छ भन्ने सम्झिएर, ।।

विहानको क्याम्पस पढाइ, दिनभरिको कामको थकाइ
हाकिमको त्यो बेनियत छुवाइ,
गाडिभित्र हुने अप्रत्यक्ष अत्याचार,
हिँडिरहँदा ठोकिन आइपुग्नेहरुको कुनियत व्यवहार,
मेरै बाटो ढुकेर बस्नेहरुको मलाई देखे पछि फुर्ने ती अपच्य वाक्यहरु
सबै आँसु बनि आँखाको ढिल हुँदै
गालाका पहाडहरु पार गरेर
चिउँडोबाट झरना बनि झरिदिन्छन्,
निरासा र हतोत्साहले गाँज्दै गएको मेरो मन
विस्तारै विस्तारै मरिदिन्छ, अनि
त्यहि आँसुको झरनासँगै सारा सपनाहरु बगिदिन्छन्

कति पटक काम गरेको ठाउँ परिवर्तन गरेँ,
कति पटक चढेको गाडि परिवर्तन गरेँ,
कति पटक हिँडेको बाटो परिवर्तन गरेँ, अनि
कति पटक आफ्नै मन,
तर
अरुको मन दुखाएर, आफ्नो मन सन्तुष्ट भएको भान
हुनेहरुले कहिल्यै बुझेनन्
सँधै यहि बाटो हिँड्ने केटि
आजभोलि देखिन छाड्नुमा कारण हामी हौँ भनेर ।।

मेरी आमा मलाई सँधै भन्नु हुन्थ्यो
‘छोरी, अबेरसम्म बाहिर नबस्नु,
अन्जान मान्छेसँग त्यसरी गफ नकस्नु,
धेरै मनस्कनु, नजिस्कनु’ तर
मैले कहिल्यै सुनिन कि मेरी आमाले मेरा भाइहरुलाई भन्नु भएको
‘छोरा अरुकी छोरीलाई नजिस्काउनु, नसताउनु,
कसैप्रति गिद्दे नजर नलगाउनु,
कुनियतले नहेर्नु’,
किन आमा किन, छोराहरुलाई जे गर्न छुट छ,
छोरीहरुलाई जे सहन कर छ हो ???

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्