केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बडादशैंको तेस्रो दिन: देवी चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–०३,बडादशैं अन्तर्गत आज तेस्रो दिन । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदैछ ।

देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठमाण्डौका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरमा विगतका वर्षमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको थियो ।काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि यसपालि सुनसान छ ।माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसैकारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ ।माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी पूजा गर्ने चलन छ । नवरात्रि नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ‌ं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

प्रकाशित : 19 October, 2020

प्रतिक्रिया दिनुहोस्