अब अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने
काठमाडौं । पुस २४, राष्ट्र बैंकले अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था हटाएको छ । योसँगै अब अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।
यसअघि कोरोना कहरलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ कारोबार गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो । बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने बताएको हो ।
यो व्यवस्था माघ १ गतेदेखि लागू हुने भएको छ । यद्यपि, मासिक २ पटकसम्म भने निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसपछि भने प्रतिकारोबार अधिक्तम २० रुपैयाँसम्म शुल्क लाग्ने बताइएको छ ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा एक बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोगमा गर्दा पैसा नलाग्ने व्यवस्था गर्ने घोषण गरेको थियो । कोरोना कहरलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको पनि थियो ।
तर, अहिले कोरोना कहर सामान्य हुदैं गएको, बन्दाबन्दी पनि खुलेको अवस्थालाई लक्षित गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिने व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ ।