काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो, आन्तरिक हवाई उडान ठप्प
काठमाडौं । माघ २, काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेर भिजिबिलिटी कम हुँदा आन्तरिक उडान ठप्प भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । बाक्लो कुहिरोका कारण केहि दिनदेखि दैनिक जसो तराईका जिल्लामा आन्तरिक उडान प्रभावित हुँदै आएको छ ।
मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।
काठमाडौंको भिजिबिलिटी अपराह्न २-३ बजेपछि मात्रै केही सुधार हुनसक्ने बताइएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव छ । त्यसैले प्रदेश नं. १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं. १ एकको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ ।