प्रदेश–१ द्वारा गण्डकीलाई १ सय ३ रनको लक्ष्य
काठमाडौं । माघ ०५, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ ले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको हो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गरे । त्यसैगरी मनिष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रनको योगदान गरे ।
बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यालले ह्याट्रिकसहित चार विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका उनले चार विकेट लिन सफल भए । उनले २८औं ओभरमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए । त्यस्तै सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपिन खत्रीले दुई विकेट लिए ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा पराजित भएको गण्डकी प्रदेश आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।
यता प्रदेश १ ले प्रतियोगिताअन्तर्गत आज पहिलो खेल खेल्दै छ भने आजको खेलमा जित निकाल्दै प्रदेश १ प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ ।