५ दिनमै सय करोड क्लबमा पर्न सफल ‘मास्टर’
सहयात्रा टिभी
काठमाडौं । माघ ०६, सुरुकै दिनदेखि उत्साहजनक व्यापार गरेको ‘मास्टर’ महामारीपछि सय करोड कमाइ नाघ्ने पहिलो फिल्म बन्न सफल भएको छ। फिल्म सार्वजनिक हुनुअघि नै हजारभन्दा बढी सोको टिकट बिक्री भएर ‘मास्टर’ ले तरंग ल्याएको थियो। फिल्म सार्वजनिक भएपछि पनि फिल्मको चर्चा कायमै रहेको छ।

फिल्मफेयरका अनुसार, ३८ सय पर्दामा रिलिज भएको तमिल फिल्म ‘मास्टर’ पाँच दिनमै सय करोड क्लबमा परेको हो।फिल्मले तमिलनाडुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको हो। यसबाहेक फिल्मले कर्नाटक, केरलालगायत भारतका अन्य राज्यबाट फिल्मले पहिलो हप्तामै गरेको कमाइ १ सय २५ करोड नाघिसकेको छ ।
लोकेश कंगराज निर्देशित यो फिल्म दुई सुपरस्टार विजय र विजय सेतुपतीका कारण दर्शक तान्न सफल भइरहेको छ। महामारीमा भएको लामो बन्दपछि सिनेमा हलमा खोल्न भारत सरकारले हलमा ५० प्रतिशत दर्शक मात्र बस्न पाउने गरी हल खोल्ने अनुमति दिएको थियो।‘मास्टर’ले ५० प्रतिशत अकुपेन्सीमा नै पहिलो हप्तामै १ सय २५ करोड व्यापार गरेको हो।


