इराकको बगदादमा दुई आत्मघाती विष्फोट, कम्तीमा २८ को मृत्यु
काठमाडौं । माघ ०८, इरानको राजधानी सहर बगदादमा बिहीबार भएको दुई आत्मघाती विष्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको बताईएको छ । उक्त घटनामा परी थप ७३ जना घाइते भएका छन् । इराकी सेनाले दिएको जानकारीअनुसार बिहीबार बगदादको व्यस्त व्यवसायिक क्षेत्रमा उक्त विष्फोट गराइएको हो ।
इराकी सेनाका अनुसार बगदादको टायारन स्क्वायर नजिकै बब अल सर्जी क्षेत्रमा दुई विष्फोट गराइएको हो । सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने मेडिकल अधिकारीहरुले जानकारी दिएका छन् । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी घाइते भएकाहरुका लागि उचित उपचारको व्यवस्था गरिएको छ । प्रहरीका अनुसार बगदादको ठूलो ‘सेकेण्ड ह्याण्ड’ बजारमा उक्त विष्फोट गराइएको हो ।
इराकले सन् २०१७ मा मुलुकमा आईएस पराजित भएको घोषणा गरेको थियो । तर, मुलुकमा लुकेर रहेका यो संगठनका लडाकुहरुले भने बेलाबेलामा आक्रमण गराउँदै आएका छन् ।विश्लेषकहरुले भने इराकमा अझै पनि आईएस सक्रिय रहेको र इराकको सुरक्षा कमजोरीको कारण यो अवस्था आएको जनकारी दिएका छन् ।