शालीनदीमा ५० जना मात्र व्रत बस्न पाउने, पीसीआर र एक्सरे रिपोर्ट अनिवार्य चाहिने
काठमाडौं । माघ ०९, काठमाडौंको साँखुस्थित एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि कठोर नियम बनाइएको छ । कोरोनाको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले बताएको छ । समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला वर्षमा ४०० भन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइने जानकारी दिनुभएको छ ।
स्वस्थानी व्रत कथामा उल्लेखित लावण्य देशको रुपमा मानिएको साँखु क्षेत्रका हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बसिने स्वस्थानी व्रत यस वर्ष मलमासका कारण केही पछि सरेको छ । परापूर्वकालमा पार्वतीले यहीँ स्वस्थानी व्रत बसी महादेव वर पाएको भन्ने धार्मिक विश्वासका कारण मध्यनेपालमा स्वस्थानी व्रतलाई महत्वपूर्ण व्रतको रुपमा मान्ने गरिन्छ ।
माघ १५ देखि फागुन महिनासम्म हुने स्वस्थानी व्रतको समयमा शालीनदी दर्शन गर्न आउने दर्शनार्थीहरूलाई भने त्यतिधेरै मापदण्ड तोकिएको छैन । तर सामाजिक दुरी कायम गर्नको लागि प्रवेशद्वार र निस्कने द्वार छुट्टाछुट्टै राख्ने, सकेसम्म समूहमा हिँड्न नदिने जस्ता मापदण्ड कार्यान्वयनको लागि स्वयंसेवक खटाउने तयारी गरिएको बताईएको छ ।