‘माउन्ट केटु’मा विश्व कीर्तिमान रचेका नेपाली आरोहीलाई विमानस्थलमा स्वागत
काठमाडौं । माघ १३, हिउँद याममा विश्वकै दोस्रो अग्लो शिखर ‘माउन्ट केटु’ आरोहण गरेर इतिहास रचेको नेपाली टोली आज स्वदेश फिर्ता भएको छ । आज बिहान काठमाडौं ओर्लिएको कीर्तिमानी नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
नेपाली पर्वतारोही टोलीले विश्वमै पहिलोपटक हिउँद याममा पाकिस्तानमा रहेको माउन्ट केटु हिमाल चढेर कीर्तिमान बनाएको हो ।
मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले ३ माघ, शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको थियो । आरोहण दलका सदस्यहरुलाई टोलीलाई ब्यान्डबाजासहित स्वागत गरिएको छ। स्वागतपछि उनीहरु पर्यटन बोर्ड पुग्नेछन्। दिउँसो यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने कार्यक्रम रहेको छ।
सगरमाथापछि विश्वकै अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिल्यै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमाल मध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।
माउन्ट केटु लाई आरोहणका लागि संसारकै खतरनाक हिमाल मानिन्छ। सन् १९५३ मा केटु शिखर आरोहण टोलीमा रहेका अमेरिकी पर्वतारोही जर्ज बेलले भन्नु भएको थियो, ‘यो साभेज माउन्टेन हो जसले तपाईलाई मार्न खोज्छ।’ त्यसयता यो हिमाललाई ‘साभेज माउन्टेन’को नामले समेत चिनिन्छ।
सन् १९५४ मा यो हिमालमा इटालियन टोलीले सफलतापूर्वक आरोहण गरेको थियो।