पाँच पूर्व मिस नेपाल प्रतिस्पर्धीहरुका सामाजिक कार्य ‘वी रिच’
काठमाडौं । माघ १६, मिस नेपाल–२०२० प्रतिस्पर्धी मेरिशा सुवालसँगै अन्य ४ मिस नेपाल प्रतिस्पर्धी रिया श्रेष्ठ, आर्निका राज भण्डारी, आयशा श्रेष्ठ र प्रगति श्रेष्ठ पनि यतिबेला वी रिचको कार्य तालिकामा व्यस्त छिन्।
मिस नेपाल–२०२० बाट बाहिरिएपछि प्रतिस्पर्धीहरू बीच सम्पर्क हुन कठिन हुन्थ्यो तर मेरिशा, रिया, आर्निका, आयशा र प्रगति भने झनै नजिकिए। करिब दुई महिनाअघि उनीहरू साथीबाट सहकर्मीसमेत बन्ने निर्णयमा पुगेका हुन्। समाजसँग नजिकै रहेर काम गर्ने सोचले हाम्रो समूहको नाम वी रिच राखेका हौँ समूहको नामबारे आर्निकाले भनिन्।
‘वी रिच’ अर्थात् ‘हामी पुग्छौं’। विपन्न समूह, वर्गमा पुगेर उनीहरूलाई विभिन्न तरिकाले सहयोग गर्ने वी रिचको लक्ष्य रहेको छ। गत जनवरी ९ मा वी रिचले औपचारिक पाइला चालेको हो। वी रिचले डरिच फर बुक्सड अर्थात् “किताबसम्म पुग्नुस” कार्यक्रम गरेका थिए। लाजिम्पाटस्थित माइक बाइ इभोकमा आयोजित कार्यक्रममा उनीहरूले कपडा संकलन गरेका छन् । कपडा दिने व्यक्तिलाई सट्टामा उनीहरूले किताब दिए। वी रिचको योजना अनुरूप संकलित कपडा विपन्न वर्गका मानिसलाई वितरण हुँदैछ। उनीहरू यसका लागि धादिङको विकट तामाङ बस्ती जाने तयारीमा छन्। आर्निकाका अनुसार त्यो गाउँमा झन्डै ७ सय घर-परिवार छन्। उनीहरूले भोलि शनिबार कपडा र अन्य स्वास्थ्य सामग्री वितरण गर्ने हिसाबले काम गर्दैछन्।
आर्निको दीर्घकालीन योजना बताउदैँ भन्छिन्, “संस्थागत काम गर्ने हो भने जिम्मेवारीसँगै समूह सदस्य पनि थपिँदै जान्छन्। समूह ठूलो भए बनाएर काम गर्न सके अझ प्रभावकारी ढंगबाट गर्न सकिन्छ भन्ने लागिरहेछ। सामाजिक काममा हामीलाई धेरै टाढा पुग्नुछ। यो पहिलो सुरुआत हो।”
२५ वर्षीया आर्निका वी रिचसँगै आफ्नै व्यवसायमा व्यस्त छिन्। उनले थाइल्यान्डबाट सूचना व्यवस्थापनमा स्नाकोत्तर सकेकी हुन्। गत मार्चमा नेपाल आएर मिस नेपाल-२०२० मा सहभागी भएकी थिइन्। मिस नेपालमा सहभागिता जनाउने सपना थियो। पूरा गरेँ, उनी भन्छिन्, ‘यो प्लेटफर्मबाट आफैंलाई अनावरण गर्नु थियो। त्यसको अनुभव लिएँ।’