ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा पठनपाठन सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ १९, पुनर्निर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढंगले पुनर्निर्माण सकिए पनि ९ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

कोरोना भाईरसका कारण निकै लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाट नै पठनपाठन अघि बढाएका थिए भने एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न लागिएको काठमाडौं महानगरपालिका–२७ का सदस्य परिवेशमान बज्राचार्यले बताउनु भयो।

नेपाल सरकारले उपत्यकाका महत्त्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित रहेका छन् । निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी संख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका पाईएको छ । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए । नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ । पुनर्निर्माणपछि सो विद्यालयमा प्रतिकक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । तत्कालीन राणा सरकारले १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो ।

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्