देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज प्रधानमन्त्रीद्वारा उद्घाटन

सहयात्रा टिभी

काठमाडौं । माघ १९, प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको रहेको छ ।

कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका हुन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जासबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको बताईएको छ ।

हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ

यस आयोजना सम्पन्न गर्न करीब नेपाली रकम रू दुई अर्ब २० लगानी छ । त्यसैगरी २२० र १३२ केभीको कूल लागत करीब ६।९ मिलियन अमेरिकी डलर र नेपाली रु। २८ करोड छ जसमा बैंकको प्रसारण लाइन तथा सबस्टेशन गरी जम्मा १३८ मिलियन अमेरिकी डलर ऋण सहयोग छ ।

यस योजनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्