ब्राजिलका राष्ट्रपति बोल्सोनारोमाथि संसदीय अनुसन्धान सुरु हुने
काठमाडोैं । माघ २३, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोमाथि संसदीय अनुसन्धान सुरु हुने भएको छ । ब्राजिलका महाअभियोजकले राष्ट्रपति र स्वास्थ्यमन्त्रीमाथि महामारीलाई बेवास्ता गरेको विषयमा संसदीय अनुसन्धानको प्रक्रिया सुरु गरेका बताईएको छ । ब्राजिलको मानुस सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा उनीहरुले बेवास्ता गरेको भन्दै महाअभियोजकले उनीहरुमाथि संसदीय कारबाहीको सुरुवात गरेका छन्। मानुस सहरमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) पनि देखिएको थियो । ब्राजिलमा कोरोना महामारी नियन्त्रणको लागि आवश्यक कदम नचालेको तथा भ्रम सिर्जना गरेको भन्दै बोल्सोनारोको आलोचना सुरु भएको हो।
अमेजनको घना जंगलको बीचमा अवस्थित मानुस सहर दोस्रो लहरको कोरोना संक्रमण फैलिएको थियो जसबाट त्यस सहर निकै प्रभावित बनेको थियो । गत जनवरीमा यो सहरमा उल्लेख्य मात्रामा फैलिएको कोरोना संक्रमणको कारण मुलुकको अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको थियो भने अक्सिजन आपूर्तिको लागि हवाई सेवाको प्रयोग गर्नुपरेको बताईएको छ।