सहकारी संस्थाहरूको लगानीमा सहकारी बैंक दर्ताको तयारी पूरा
काठमाडौं । माघ २५, नेपाल सहकारी बैंकमा सुरेन्द्र भण्डारीको अध्यक्षतामा तदर्थ सञ्चालक समिति चयन भएको छ । दर्ताका लागि सहकारी ऐन-२०७४ को व्यवस्थाअनुसार आवश्यक तयारी पूरा भएको र आइतबार सहकारी विभागमा फाइल पेश गर्ने लागिएको बताईएको छ । बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति र कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । सहकारी ऐनले एकभन्दा बढी सहकारी बैंक दर्ता गर्ने बाटो खुल्ला गरेपछि सहकारी संस्थाहरूको लगानीमा नयाँ बैंक खुल्न लागेको छ ।
ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंक गठन गर्न सकिने कुरा उल्लेख गरीएको छ । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५०१ संस्था वा संघहरू हुनुपर्ने व्यवस्था रहेको छ । अहिलेसम्म राष्ट्र बैंकले सहकारी बैंकलाई अनुमति दिनेसम्बन्धी कुनै नीतिगत व्यवस्था गरेको छैन । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा पनि सहकारी बैंकलाई अनुमति दिने व्यवस्था छैन । हाल सञ्चालनमा रहेको सहकारी बैंकलाई पनि अन्य संस्थाका रूपमा सहकारी संस्थाहरूबीच होलसेल वित्तीय कारोबार गर्ने अनुमति दिएको छ ।