ढोलाहिटी–लेले सडक अझै सम्पन्न भएन

सहयात्रा टिभी

काठमाडौं । माघ २८, विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भएको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए । उनका अनुसार बस्ती क्षेत्रमा चार/पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ । उनले भने, “जतिमा गर्न सकिन्छ त्यतिमा कालोपत्र गरेर पनि चाँडो टुङ्ग्याउन लागिएको छ ।”

ठेचोबाट टाखेलसम्मको सडक गत आवमा नै सम्पन्न भइसकेको थियो । ढोलाहिटीबाट सुनाकोठी हुँदै ठेचोसम्मको सडक अहिले निर्माण भइरहेको छ । ढोलाहिटीबाट सुनाकोठीसम्म दुईवटा प्याकेजमध्ये एउटा प्याकेज सकिन लागेको र अर्को प्याकेजमा बाँकी रहेकामा छिट्टै सकाउने लक्ष्य लिइएको देवकोटाले बताए । सोही सडकको चापागाउँबाट–लेलेसम्मको सडक पनि सम्पन्न नभएको आयोजनाले जनाएको छ । अन्यत्र उपलब्ध चौडाइमा निर्माण भइरहेकामा टाखेलबाट टीकाभैरवसम्म वन क्षेत्रमा १४ मिटर चौडाइमा निर्माण भइरहेको छ । वन क्षेत्रमा माटो खन्ने काम भइसकेको र त्यहाँ सडक कालोपत्र बाँकी रहेको सूचना अधिकारी देवकोटाले बताए । त्यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत छ । निर्माण शुरु भएको चार वर्षपछि सो सडक मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । बीस मिटर सडक कालोपत्र गर्ने विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएकामा अहिले ६/७ मिटर चौडाइमा कालोपत्र भइरहेको हो ।

खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । टाखेलबाट लेलेसम्मको वन क्षेत्रमा मात्रै सडक एक लेनभन्दा बढीको बनेको छ । झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आव २०७३ मा र अरु दुई प्याकेजमा आव २०७४ र ७५ मा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित : 10 February, 2021

प्रतिक्रिया दिनुहोस्