शिवपुरीबाबा र ओशोको शिक्षणमा समानता

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०३, जतिपनि सम्बुद्धपुरुषहरु छन् सबैका देशना जीवन उपयोगी छ, सबैलाई सम्मान गर्नुपर्छ भन्ने ओशोको मौलिक दर्शन हो । शिवपुरीबाबालाई हामी ओशो संन्यासी गुरु सरह नै श्रद्धा र आदर गर्छौं । ओशोको देशना छ – “बुद्धम शरणम् गच्छामि ।” समस्त बुद्धहरूको शरणमा जाने । सबै बुद्धहरुलाई आदर गर्ने र उनीहरुको शिक्षणबाट आफ्नो आध्यात्मिक रुपान्तरण गर्ने । ओशो संकीर्ण विचारहरु राख्नुहुन्न । उहाँले विगतका ७० गुरुहरूको बारेमा आदरपूर्वक प्रवचन दिनुभएको छ । आजभन्दा ४६ वर्ष अगाडिदेखि मलाई शिवपुरीबाबाको आध्यात्मिक सांन्निध्य प्राप्त भइरहेको छ । श्रद्धा र भक्ति कै कारणले उहाँको ध्यान मन्दिर ओशो तपोवनमा बनाएका छौं ।

ओशोसँग दीक्षा लिएपछि ओशोले मलाई नेपालमा ओशो आशीष ध्यान केन्द्र स्थापना गर्ने आज्ञा दिनुभयो । मेरो ताहाचलको घरमा सन् १९७४ मा यो ध्यान केन्द्र स्थापना भयो । पूनाबाट बिदा हुने बेलामा ओशोले मलाई लेखेर दिनुभयो –“तिमी नेपालमा शिवपुरी बाबाको समाधिस्थलमा जाने गर्नु ।” नेपालमा जन्मिए पनि शिवपुरी बाबासँग मेरो परिचय थिएन । ओशोले लेख्नुभएको थियो – “एयरपोर्टको नजिकै आर्मीको व्यारेक भित्र काँडेतारले घेरिएको सानो आश्रम छ । त्यहाँ जानु, तिमीलाई प्रेरणा मिल्छ ।” गुरुकै आदेश भएको कारणले म त्यहाँ गएँ । त्यहाँ शिवपुरीबाबाका लामो समयसम्म सहयोगी र सेवक रहनुभएका माधवबाजेसँग भेट भयो । पहिलो भेटमै उहाँसँग एक गहिरो र आत्मीय सम्बन्ध बस्न गयो । आश्रममा मैले गहन आध्यात्मिक तरंगर ऊर्जा महसुस गरें । त्यसपछि म शिवपुरीबाबाको आश्रममा नियमित जानथाले ।

यस तपोवन आश्रमको संरक्षणमा पनि उहाँको ठूलो योगदान छ । पछि ओशोले मलाई भन्नुभयो कि शिवपुरी बाबालाई म तिम्रो लोकल गार्जियन बनाउदैछु । जब बच्चाहरुलाई घरबाट टाढा पढ्न अर्को शहरमा जान्छन् भने कुनै निकटको हितौषि त्यो शहरमा छन् भने बच्चाहरुको हेरचाहका लागि स्थानिय हितैषिलाई लोकल गार्जियन बनाइन्छ ।

ओशोले एकदमै तर्कनिष्ठ तरिकाले बुद्धिवादी व्यक्तिहरुको समूहको लागि बोल्नुभयो । अमेरिकामा रजनीशपूरम् नामक ११० वर्ग माइलको एक शहरै बसाउनुभयो । पुनामा पनि उहाँको आश्रमको ध्यान कक्षमा १० हजार व्यक्तिले उहाँको प्रवचन सुन्थे । शिवपुरी बाबा एकान्त जीवन जिउन मन पराउनु हुन्थ्यो । आफु वरिपरी भिडभाड जम्मा हुन दिनुभएन । शिष्यहरु बनाउनुभएन । कसैलाई दीक्षा पनि दिनुभएन । तर ओशोले जो आए सबैलाई दीक्षा दिनुभयो । हामी उहाँको शिक्षण र साधनामा आस्था राख्ने सबैलाई ओशोको नामबाट आजपनि हामी दीक्षा दिइरहेका छौं । शिवपुरीबाबाले घोर तपस्या गर्नुभयो । अमरकण्टकको जंगलमा २५ वर्षको एकान्त साधनापछि समाधि प्राप्त गर्नुभयो । त्यो दृष्टिले हेुर्नभयो भने ओशोलाई तपाई कृष्णमूर्तिका नजिक पाउनुहुन्छ । उहाँले शुद्ध होस र जागरणको कुरा गर्नुभयो । नियमित र सतत् ध्यानमा जोड दिनुभयो । बाहिरबाट हेर्दा मात्र यो असमानता देखिन सक्छ । शिवपुरीबाबाले नेपालमा निर्दोष भक्तिभावले भरिएकाथोरै सोझा नेपालीहरु शिक्षा दिनुभयो भने ओशोलाई सुन्न संसार भरीका कथाकथित ज्ञानी, बुद्धिवादी र तार्किक व्यक्तिहरु आए, जसमा परम नास्तिकहरु पनि थिए ।

ओशोले शिवपुरीबाबाको बारेमा भन्नुभएको छ – “यस शताब्दीमा परमात्मासँग एकाकार गरेका थोरै व्यक्तिहरु मध्ये शिवपुरी बाबा एक हुनुहुन्छ । शिवपुरीबाबा यो शताब्दीका एक विरलै चेतना हुनुहुन्छ । भारतमा जहाँ धेरै मूर्ख र पाखण्डीहरु आफूलाई ज्ञानी भनेर प्रस्तुत गरिरहेका हुन्छन् तिनको भिडमा शिवपुरी बाबा जस्तो व्यक्तिलाई भेट्न करिब करिब असंभव छ । शिवपुरी बाबा वास्तवमै आध्यात्मिक जगतमा एक विरलै फुल्ने फूल हुन् ।”

प्रकाशित : 15 February, 2021

प्रतिक्रिया दिनुहोस्