‘विज्ञापन बोर्ड’ होर्डिङ बोर्ड अझै यथावत नै
काठमाडौं । फाल्गुन ०४, काठमाडौं महानगरपालिकाका मुख्य सडक बाहेकका भित्री सडकमा ‘विज्ञापन बोर्ड’ होर्डिङ बोर्ड अझै यथावत नै रहेका छन् । महानगरले मुख्य मुख्य सडकका विज्ञापन बोर्ड हटाए पनि भित्री सडकका होर्डिङ बोर्ड हटाउन सकेको छैन । गतवर्ष चैत ४ गतेदेखि महानगरले सडक आसपासका होर्डिङ बोर्ड हटाउने व्यवस्था गरीएको थियो ।
‘‘शैक्षिक इन्स्टिच्युटका संस्थाले विज्ञापन गर्न घर जग्गासमेत ओगटेका थिए । मुख्य चोकतिर घर पसलतिर मात्रै महानगरका नगर प्रहरीको ध्यान गएको छ । मुख्य सडकबाहेकका भित्रका चोकमा अहिलेसम्म पनि होर्डिङ बोर्डहरु ठडिएकै छन् । सहरको सौन्दर्यता मुख्य सडकका चोकले दिने हो की? भित्री चोकका सडकले र? विज्ञापन बोर्ड जति राख्यो त्यति नै राजस्व सङकलन गर्न पाउने रहेछ ।” अनामनगरस्थित एक इन्स्टिच्युटका सञ्चालक रेशम नगरकोटीले बताए ।
बागबजारकी जानुका कँडेल माइतीघर मण्डलाका सडक विज्ञापनमुक्त बनाउने महानगरको ध्यान बागबजारमा नपरेको बताउँछिन् । बागबजार क्षेत्रमा मापदण्ड विपरीत विज्ञापन बोर्ड राखिएका छन् । चाबहिलमा डिजिक्लिक सेन्टरले विज्ञापन बोर्ड राखेको छ । क्लिकका सञ्चालकले आफूले राखेको विज्ञापन बोर्ड मापदण्ड विपरीत नभएको दाबी गरे । “विज्ञापन बोर्ड राखेवापत राजस्व तिर्ने गरेका छौँ ।” होर्डिङ बोर्डको एक हजार पाँचसय रुपैयाँ राजस्व तिर्ने गरेका डिजिक्लिकका सञ्चालक बताउँछन् ।