फागुन ७ देखि स्याङ्जामा आलु महोत्सव हुने
काठमाडौं । फाल्गुन ०४, स्याङ्जाको भीरकोट–५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने बताईएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिए ।
“आलु उत्पादनका दृष्टिले यो क्षेत्र उर्वरभूमि पनि हो, परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई थप आधुनिकीकरण र व्यवसायितकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेका थियौं” नगर प्रमुख खनालले भने, “पकेट क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगतरुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएकोमा उत्पादन पश्चात खन्न शुरु भएको हो । अहिले सबै जना किसान खेतमै आलु खन्न व्यस्त हुनुहुन्छ । यहाँ शुद्ध बीउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।”