भारतबाट खरिद गरिएको १० लाख कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
काठमाडौं । नेपाल सरकारले भारतबाट खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुग्दै छ ।
भारतबाट खरिद गरिएको ‘कोभिशिल्ड’ खोपको २० लाख डोजमध्ये पहिलो चरणामा आज १० लाख डोज ल्याउन लागिएको हो ।
उक्त खोप लिएर एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ ।
उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।
अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।