पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउन प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशमा रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरवार हो । यसको निर्माण विसं १९५४ सालमा भएको थियो। यो महल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरवार बनाउन लगाएका थिए । यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान) आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।

‘हामी पर्यटनमा विविधीकरण खोज्छौं,’ बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा. धनन्जय रेग्मीले भने, ‘त्यसका लागि फरक खालका उत्पादनमा लाग्नुपर्छ, त्यसमध्ये एउटा उत्पादन हो रानीमहल ।’ रानीमहललाई ‘हनिमुन गन्तब्य’ बनाउन सकिने बोर्डको अवधारणा छ । ‘रानीमहल प्रेमसँग जोडिएको गन्तब्य हो, उनी भन्छन्, ‘हामी यसलाई नवजोडीसँग किन नजोड्ने ?’

रानीमहल अहिले अपनत्व लिने निकायको अभावमा जीर्ण बन्दै गएको छ । एकातर्फ नदीको कटानबाट बचाउने गरी संरचना बनाउन सकिएको छैन । अर्कोतर्फ दरवारका संरचनाहरुसमेत जीर्ण बनेका छन् । यसअवस्थामा रानीमहलको बाहिरी र भित्री ऐतिहासिक स्वरुपलाई नबिगारी मर्मत गर्न सकिने बोर्डको प्रस्ताव छ ।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्