पाटन ढोकामा सञ्चालित बसपार्क हटाईयो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, ललितपुर महानगरपालिकाले ललितपुरको पाटन ढोकामा सञ्चालित रहेको बसपार्क हटाएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले नगर क्षेत्रभित्र सडक दुर्घटना न्यूनीकरण र सवारी आवागमन सुव्यवस्थित गर्न निर्देशन दिएसँगै नगर प्रहरीको अगुवाई तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा, पाटन ढोका बस व्यवसायी प्रा.लि., शान्ति युवा क्लव, निखा बहाल टोल, ननि टोल सुधार समितिको सहयोगमा पाटन ढोका क्षेत्रबाट बसपार्क हटाइएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताउनु भयो।

बसपार्क हटाइएको सो स्थानमा आइतबारदेखि बस स्टप कायम गरिएको उनले जानकारी दिए। अब बस स्टप भएको ठाउँमा सार्वजनिक बस यात्रु ओराल्ने र चढाउनका लागि मात्र रोकिने उनले बताए। तीन दशकअघिदेखि कायम बसपार्क अहिलेको परिस्थितिमा अनुपयुक्त भएकाले हटाइएको उनले स्पष्ट पारे। उनले करिब तीन दशकअघि स्थापना भएको यो वसपार्कमा थोरै संख्यामा रहेका सवारी साधन सञ्चालन हुन्थे भन्दै त्यो अवस्थामा मुख्य सडकमै बसपार्क रहँदा पनि खासै समस्या नभए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्