स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमणबाट सात घाइते
काठमाडौं । फाल्गुन २०, स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ । बीस वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पुर्याएको छ । बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो ।
एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ । प्रहरीले शुरुमा उक्त घटनालाई हत्या प्रयासको संज्ञा दिँदै शंकास्पद आतंकवादी अपराधका रुपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । पछिल्ला वर्षहरुमा स्वीडेनमा आतंकवादी आक्रमणका घटना दोहोरिन थालेका छन् । सन् २०१० डिसेम्बरमा राजधानी स्टकहोममा एक व्यक्तिलाई आत्मघाती बम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।