‘मिसेस नेपाल ग्ल्याम’ चैत्रमा आयोजना हुने
काठमाडौं । फाल्गुन २०, ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागिता बारे जानकारी गराएको हो । प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन दिन सक्ने प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुनेछ ।
विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लि. का प्रिति कार्कीले बताइन् । बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुने अडिसनमा सहभागीताका लागि अनलाईन मार्फत र ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको कार्यालय, आधिकारिक फेसबुक पेज र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।
प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् ।