शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले यस्तो निर्देशन दियो
काठमाडौं । फल्गुन २७, फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लियो । त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन् ।
आन्दोलन चर्किरहेको अवस्थामा केही प्रहरी अधिकारी परिवारसहित शरण खोज्दै भारत आए । उनीहरु अहिले भारतको मिजोरममा शरण लिएर बसेका छन् भने म्यानमारको सेनाले भने उनीहरु आफ्नो निर्देशन नमानेर भागेको भन्दै फिर्ता पठाउन भारतसँग पत्र लेखेको छ ।
भारतमा शरण लिन आइपुग्ने म्यानमारका प्रहरी अधिकारीमध्ये एक हुन् था पेङ । उनले शरण लिन आएको विषयमा मुख खोलेका छन् । उनकाअनुसार २७ फेब्रुअरीमा खाम्पाट सहरमा निस्किएको प्रदर्शनमा सहभागीहरुमाथि गोली चलाउने आदेश दिइएको थियो । तर उनले उक्त आदेश मानेनन् । ‘अर्को दिन एक अधिकारीले मलाई गोली हान्ने आदेश दिएका थिए,’ उनले भने । २७ वर्षीय पेङले अधिकारीको आदेश पुनः अस्वीकार गरे र प्रहरीबाट राजीनामा दिए ।
मार्च १ मा उनले खाम्पटमा रहेको आफ्नो घर छाडे र परिवार लिएर तीन दिनसम्म यात्रा गरे । कसैले नदेखोस् भन्नका लागि उनी रातको समयमा यात्रा गर्थे । मिजोरमको भारतीय सीमा पार नगर्दासम्म उनले लुकीलुकी यात्रा गरेका थिए । आफ्नो पहिचान गोप्य राख्न नामको केही अंशमात्र खुलाएको उनले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘मसँग कुनै विकल्प थिएन ।’ रोयटर्सका अनुसार उनको प्रहरी परिचयपत्र र राष्ट्रिय परिचयपत्रबाट उनको नाम पुष्टि भएको हो ।
पछिल्लो ९ वर्षयता प्रहरीमा काम गर्दै आएका पेङले परिचयपत्रसँगै प्रहरी पोशाकमा खिचाएको फोटो पनि देखाएका थिए । उनका अनुसार म्यानमारको प्रहरीको नियममा प्रदर्शनकारीहरुलाई तितरबितर पार्न रबरको गोली प्रयोग गर्ने र अझै पनि प्रदर्शन नियन्त्रणमा नआए घुँडाभन्दामुनि गोली प्रहार गर्न पाइन्छ । तर अहिले नमर्दासम्म प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको उनले बताए ।
अर्का प्रहरी कन्स्टेबल एनगुन हेलेईले पनि आफूलाई सेनाले प्रदर्शकारीलाई गोली हान्ने आदेश दिएको बताए । उनी मन्डाले सहरमा काम गर्थे । २३ वर्षीय उनले पनि आफ्नो परिचयपत्र पनि साथमा ल्याएका थिए । उनलाई भारत आउन दुई लाख म्यानमारी क्याट अर्थात् १४३ डलर खर्च लागेको थियो । भारत–म्यानमार सीमाक्षेत्रमा केही माइलसम्म दुवैतर्फका नागरिक कुनै पनि भ्रमण अनुमति बिना आवतजावत गर्न सक्छन् । त्यसैले पनि उनीहरुलाई भारत आउन सहज भएको थियो ।