श्रीलङ्कामा सार्वजनिक स्थलमा बुर्का लगाउन प्रतिबन्ध

एजेन्सी । चैत १, श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने भएको छ ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीका अनुसार राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन आग्रह गरिएको छ ।

यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताएका छन् ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उनी बताउँछन् ।
योसम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।
श्रीलङ्काको सरकारले सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको बताएको छ ।
सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर २५० जनाले ज्यान गुमाउनु परेको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आइएको छ ।