भारतले रोक्यो कोरोना खोपको निर्यात

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, भारतले आफ्नो देशमा उत्पादन भएको कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगाएको छ ।

भारतीय विदेश मन्त्रालयको स्रोतलाई उदृत गर्दै बीबीसीले भारतले खोप निर्यातमा रोक लगाउने निर्णय लिएको जनाएको हो ।

विदेश मन्त्रालय स्रोतका अनुसार अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिशील्ड’ खोप केही समयका लागि निर्यातमा रोक लगाइएको छ ।

भारतमा पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गएका कारण देशभित्रै खोपको माग बढ्ने भएकाले निर्यातमा रोक लगाउने निर्णय लिइएको बताइएको छ ।

बुधबारमात्रै भारतमा ४७ हजार नयाँ संक्रमित भेटिएका थिए भने २ सय ७५ जनाको मृत्यु भएको थियो ।

यो निर्णयले आगामी अप्रिल महिनाको अन्त्यसम्म खोप निर्यातमा प्रभाव पर्ने देखिएको छ । साथै, कोभ्याक्स योजनाअन्तर्गत करिब १९० देशले पाउने खोप सुविधामा पनि प्रभाव पर्ने छ । भारतले अहिलेसम्म ७६ देशमा कोरोनाविरुद्धको खोप करिब ६ करोड डोज पठाइसकेको छ ।

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्